ताप्लेजुङ । ओलाङचुङगोलाबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने तिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र, सडक यसअघि नै निर्माण चीन जोड्ने सुदूरपूर्व ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा पहिलोपटक मंगलबार जिल्ला सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् ।
सडक ट्र्याक छिचोलिएसँगै गाडी पुगेको दुई दिनपछि बिहीबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुगेर खुसियाली साटेका छन् ।
भारतको सिमाना विराटनगरको रानी भन्सारबाट चीनसँग सिमाना जोडिएको सबैभन्दा छोटो उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक यही हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने तिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । स्थानीय बासिन्दाको पहलमा गोलाबाट तिप्ताला सीमासम्म यसअघि नै सडक निर्माण भइसकेको छ ।
सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इन्चार्ज राजीव लामिछानेले बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने कार्य सकिएपछि गोलासम्म फोरह्विल जिप तथा ट्याक्सी सदरमुकाम फुङलिङबाट गोला पुगेको बताए ।
एलाइट जेभीले फुङलिङदेखि ३८ किलोमिटर दूरीमा रहेको रानीपुलबाट गोलातर्फको बाटोको ट्र्याक ओपन, बाटो सफा गर्ने र ग्रेडिङ मिलाउने कार्य सकिएको जनाएको छ । लामिछानेले रानीपुलबाट गोलासम्मको दूरी पनि साधारण जिप तथा ट्याक्सी हिँड्न मिल्ने गरी बनाएको बताए ।
तमोर करिडोरमा बाह्रै महिना सवारी चलाउन मिल्ने गरी तीन वर्षभित्र स्तरोन्नति – उपप्रधानमन्त्री महासेठ
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले ०८१-८२ को बजेटमार्फत तीन वर्षभित्र तमोर करिडोरको तिप्ताला भञ्ज्याङसम्मको सडकखण्ड स्तरोन्नति गर्ने बताए । उनले बाह्रै महिना सवारी चलाउन मिल्ने गरी स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए ।
‘कति बजेट आवश्यक छ, त्यसअनुसार बजेट विनियोजन गरी तीन वर्षभित्रमा करिडोरको काम पूरा हुनेछ । हामी अगाडि बढाउँछौँ,’ महासेठले भने, ‘तमोर करिडोर त्रिदेशीय (नेपाल, भारत र चीन जोड्ने) सबैभन्दा छोटो मार्ग भएकाले यसलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी काम अगाडि बढाउँछौँ ।’
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।







