इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस ८२ मतले अघि लागेको छ । यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो ।प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा एमाले१ हजार ६३ मत ल्याएर पच्याईरहेको छ ।
तेस्रो स्थानमा स्वतन्त्र उमेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । २०९ मत पाएर रास्वपा चौथो स्थानमा रहेको छ ।प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम(२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।







