इलाम । नेपाल भारतको सीमा क्षेत्र मेचीबजारदेखि शुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा कार्यक्रम आज समापन गरिएको छ । नेपाली सेनाको रणशार्दुल गण , सुर्योदय र इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको अभियानमा गरिएको निशान पदमार्गको पदयात्रा आज माईजोगमाईको हात्तीटार माइबेनी हुदै इलामको माइस्थान सम्म गरिएको थियो ।
पदयात्रा कार्यक्रममा सहभागिहरुलाई विभिन्न झाँकी सहित इलाम नगरको आठ र सात नम्बर वडामा स्वागत गरिएको थियो । समापन कार्यक्रमका अवसरमा इलाम माइस्थानमा पदमार्गको पहिचान र प्रचारमा योगदान पुर्याउने विभिन्न क्षेत्रका प्रतिनीधिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । इलाम जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राइको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु इलाम नगर प्रमुख सहितले मन्तव्य राख्नुभएको थियो ।
निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छव्वीसे देखि इलाम सदरमुकामको माइस्थानसम्म ३८ किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुदै फिक्कल रम्फोक , करफोक हुदै माइजोगमाईको माइस्थान हात्तिटार माइबेनी हुँदै इलाम बजार सम्म रहेको छ । सुगौलि सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सीमाना कायम भएपछि हाल भारतको नागरीमा रहेको प्रशासनिक केन्द्र सहित नेपाली सेनाको श्रीनाथ पल्टनले निशान सहित आएर इलामको माइस्थानमा आफ्नो केन्द्र स्थापना गरेको थियो ।







