इलाम। चुलाचुली गाउँपालिकाको आर्थिक सहयोगमा तथा राष्ट्रिय कृषक समूह महासङ्घ कोशी प्रदेश कार्य समितिको आयोजनामा इलामको चुलाचुलीमा ७ दिवसीय कृषि जन्य व्यवसायिक उद्योग प्रवर्द्धन तालिम सम्पन्न भएको छ।
तालिम चुलाचुली गाउँपालिका–४ मा अवस्थित पाथिभरा बचत तथा ऋण सहकारीको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रम राष्ट्रिय कृषक समूह महासङ्घ कोशी प्रदेश कार्य समितिका सदस्य गङ्गा चापागाईंको अध्यक्षतामा तथा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
असार १० गतेबाट सुरु भई १६ गते समापन भएको तालिममा पालिकाका ६ वटै वडाबाट सिफारिस भई आएका ४० जना कृषकहरूले सहभागी भएर व्यवसायिक कृषि उद्यम सम्बन्धी ज्ञान तथा सीप हासिल गरेका छन्। तालिमको सहजीकरण प्रशिक्षक निस्कल राई, तोयानाथ भट्टराई र प्रदीप पुरीले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले तालिममा सहभागी कृषकहरूलाई सीपमा आधारित उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्नेमा जोड दिँदै भने, हामीले कृषि पेशालाई आत्मनिर्भर जीवनयापनको आधार बनाउनु पर्छ। यस्ता तालिमले कृषकमा आत्मविश्वास बढाउनुका साथै व्यवसायिक सोच विकासमा सहयोग गर्छ।
अध्यक्ष गङ्गा चापागाईंले सहभागीहरूको सक्रियता र लगावको प्रशंसा गर्दै भने यो तालिमले कृषकहरूलाई उत्पादनसँगै बजारमा पहुँच, प्रशोधन र प्याकेजिङ सम्बन्धी आधारभूत ज्ञान दिएको छ। आगामी दिनमा अझ प्रभावकारी तालिमहरू सञ्चालन गरीने बताए।
तालिम समापन कार्यक्रममा सहभागी कृषकहरूले तालिम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए ।