काठमाडाैं, ४ असार । ४१ वटा राजनीतिक दलले आयव्ययको लेखा परीक्षण प्रतिवेदन समयमै पेस नगरेकाे खुलेकाे छ ।
समयमै आयव्ययको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ४१ दललाई निर्वाचन आयाेगले ५० हजार रुपैयाँका दरले जरिवाना ताेकेकाे छ । आयाेगले शुक्रबार सार्वजनिक सूचना निकालेर साे ३० दिनभित्र जरिबाना वापकाे रकम बुझाउन निर्देशन दिएकाे छ ।
ती दलले ३० दिनभित्र ५० हजार रुपैयाँका दरले जरिवाना तिरे दल सम्बन्धी ऐन २०७३ काे दफा ५४ काे उपदफा १ खण्ड ख विपरीतकाे कामकारबाही ६ महिनाभित्र सच्याउने आदेश दिइने आयोगले जनाएको छ ।
लगातार तीन वर्षसम्म पनि लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा दललाई गत वैशाख ७ मा सफाइसहितकाे स्पष्टिकरण दिन भनिएकाेमा ५ दलले मात्र पेस गरेकाे सूचनामा उल्लेख छ । प्रतिवेदन नबुझाउने ४१ वटा दललाई पुन: ७ दिनको समय दिँदा पनि अटेरी गरेकाले दल सम्बन्धी ऐन २०७३ को दफा ५४ अनुसार ५० हजार रुपैयाँका दरले जरिबाना तिराउने निर्णय भएको पनि सूचनामा उल्लेख छ ।
राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता पार्टी, हाम्राे पार्टी, अखण्ड नेपाल पार्टी लगायत पार्टीले लेखा परीक्षण प्रतिवेदन नबुझाएका हुन् ।