इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी माथि राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।
मेयर द्वारिकलाल चौधरीले कार्यकक्षमै महिलाहरूमाथि दुव्यवहार गरेको आरोप खेपिरहेका मेयर चौधरीविरूद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको हो ।
गत भदौ ३० गते बुधबार मेयर चौधरीले इटहरी ४ का सीता शेर्पा राई र शर्मिला भट्टराईलाई दुव्यवहार गरेका थिए । मेयर चौधरीले ’यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ? बाहिर–बाहिर भन्दै कार्यकक्षमै दुव्यवहार गरेका उनिहरुको आरोप छ ।
यस घटनाको लगातै भोलिपल्टैदेखि सशक्त विरोधमा उत्रिएको महिला अधिकारवादी संस्थामा आवद्ध अधिकारकर्मीहरूको संयुक्त टोलीले मेयर चौधरी उपर कडा कारबाही माग गर्दै महिला आयोगमा उजुरी दर्ता गराएको महिला आधारशीला सुनसरीकी अध्यक्ष सुशीला उप्रेतीले जानकारी दिइन् ।
उनका अनुसार अधिकारकर्मीको टोलीले मेयर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा पनि जाहेरी दर्ता गराउने प्रयास गरेको भएपनि मुद्दा शाखाका प्रहरी निरीक्षक केशवकुमार कटुवाल बाहिर रहेको भन्दै प्रहरीले उजुरी नलिएको उनले जानकारी दिईन ।