जलेश्वर । जग्गा कित्ताकाटका लागि विनित चौधरी २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन्।
जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नगराई उनी रित्तै फर्किए ।
‘सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुपर्यो’, उनले भने, ‘हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन्।’ आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उनको गुनासो छ।
त्यस्तै, कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आएका जलेश्वर नगरपालिका–२ का अनिलकुमार साहले पनि त्यस कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाउँदै काम नगरिदिएको गुनासो गरे।
जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट एक महिनादेखि कार्यालय धाउँदै आएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपुर्जासम्बन्धी काम हुन सकेको छैन। करिब ४५ किमि टाढाबाट जग्गा लालपुर्जासम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आएका ती वृद्धले एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारीले काम नगरिदिएको गुनासो गरे।
यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ। यहाँका कर्मचारीले विभिन्न बहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको सेवाग्राहीको आरोप छ।
कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ। यहाँका कर्मचारी मनपरी ढंगले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरू बताउँछन्।
लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफैँ काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको सेवाग्राहीले बताए।
कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा परेको सेवाग्राहीले बताए। कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेको हुन सक्ने कार्यालयका सूचना अधिकारी ज्ञानकुमार यादवको भनाइ छ।
दरबन्दीअनुसार कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको आरोप छ।