संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खड्काले आइतबार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का सम्बन्धमा आफूले बोलेको भनाइलाई गलत अर्थ लाग्ने गरी समाचार बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
आइतबार उनले न्यूयोर्कको एक कार्यक्रममा अमेरिकाले एमसीसी फिर्ता लाने तर नसच्याउने भनेको भन्दै समाचार प्रकाशित भएको थियो । तर सो कार्यक्रममा आफूले सो अभिव्यक्ति नदिएको परराष्ट्रमन्त्रीको दाबी छ ।
उनले एमसीसीका बारेमा सबै दलका प्रतिनिधि, राजदूतावासका कर्मचारी लगायतको उपस्थितिमा आफूले बोलेको उल्लेख गरेका छन् । एमसीसीले नेपालले सोधेका सबै प्रश्नको जवाफ दिएको सन्दर्भमा अहिले संशोधन गर्न नमान्न सक्ने भनाइ मात्रै राखेको खड्काले दाबी गरेका हुन् ।
उनले कार्यक्रममा नेपालको हितमा हुने भए एमसीसी लिन सकिने, तर लिनै पर्छ भन्ने बाध्यता नभएको भनाइ राखेको ठोकुवा गरे । यही विषयलाई आफ्नो दृष्टिकोण अनुसार समाचार बनाइएको भन्दै उनले प्रश्न गरे, ‘के यसरी नै हामी अगाडि बढ्छौं, देश अगाडि बढ्छ? ‘