ईटहरी । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार १४ जनाको पीसीआर परीक्षणमा २ सय २८ र ६ सय ३६ जनाको एन्टिजेन परीक्षणमा ७५ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार सोलुखुम्बको महाकुलुङमा पहिलो पटक एकैदिन सर्वाधिक संख्यामा संक्रमित देखिएका हुन्।
मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैंचामा समान ३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरि झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा समान ६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा सामन ३, हल्दिबारीमा २, बुद्धशान्ति र बाह्रदशीमा समान १ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा समान १, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि प्रदेशमा शुक्रबार २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यसरी संक्रमणमुक्त हुनेमा १ सय ३६ महिला र १ सय २३ पुरुष रहेकाछन्।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जना पुरुषको मृत्यु भएको जनाएको छ।