सर्लाही । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा क्षेत्रबाट अटोमेटिक पेस्तोल सहित सशस्त्र प्रहरीले बिहिबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो रहेका छन् ।
भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेक जाँचको क्रममा पक्राउ गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।
सशस्त्र प्रहरीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।