इटहरी । युवा स्वरोजगारका नाममा इटहरी नगरपालिका मार्फत मेयर र उपमेयरले करोडौं रुपैंया एमाले पार्टीका कार्यकर्तालाई बाँडेको नेपाली कांग्रेस इटहरीका नेता रोहित प्रसाईंले दावी गरेका छन् ।
युवा स्वरोजगार कार्यक्रमको करौडौं रकम नगरपालिकाको नेतृत्त्व मार्फत चरम दुरुपयोग भएको बताउँदै कांग्रेस नेता प्रसाईंले नगर नेतृत्त्वले स्वरोजगारका नाममा एमाले पार्टीका कार्यकर्तालाई रकम बाँडेको दावी गरेका हुन् ।
नेपाली कांग्रेस इटहरी १० नम्बर वडा समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता प्रसाईंले युवा स्वरोजगार कार्यक्रमको सम्पूर्ण हिसाव किताव खोज्न आग्रह गरे ।
प्रसाईंले भने, ‘युवा स्वरोजगार कोषको पैसा नगर नेतृत्त्वले पार्टीका कार्यकर्तालाई बाँढेका छन् । पार्टीका कार्यकर्तालाई बाँडेको पैसा लागेका कार्यकर्ताले इटहरीमा कुनै रोजगार सृजना गर्न सकेनन् ।’
बैसाख ३० गतेको निर्वाचनमा इटहरीका जनता र नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस विषयमा प्रश्न गर्नुपर्ने बताउँदै उनले उक्त हिसाव कितावको खोजी गर्न आग्रह गरेका छन् ।
इटहरी नगरपालिका मार्फत खर्च गरिएको कोषको उक्त रकमले सृजना गर्नुपर्ने रोजगारका अवसर सृजना नहुँदा उक्त कार्यक्रम मार्फत पाउनुपर्ने लाभबाट इटहरी नगरबासी बन्चित भएको नेता प्रसाईंको भनाई छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा घोषणापत्र मार्फत इटहरीबासीसँग गरिएका प्रतिवद्दता पुरा नगरेको बताउँदै उनले त्यसको पनि हिसाव किताव खोज्न इटहरी नगरबासीलाई आग्रह गरेका छन् ।