काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई करिब ११ हजार थान हतियार र १५ लाख गोली दिने भएको छ।
निशुल्क प्रदान हुने ती हतियार र गोली आगामी वैशाखसम्म हस्तान्तरण भइसक्ने नेपाली सेनाले जनाएको छ। १० हजार ८ सय १८ थान हतियार र त्यसमा प्रयोग हुने १४ लाख ९४ हजार १६ गोली प्रदान गरिने छ।
पहिलो चरणमा सोमबार नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापालाई ३ सय थान हतियार प्रदान गरे। तीन चरणमा उपलब्ध गराइ सकिने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले दिने हतियारमा राइफल, सब मेसिन गन, लाइट मेसिन गन लगायत रहेका छन्। ती हतियार नेपाल प्रहरीका तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम लगायतमा प्रयोग गरिने छन्।