इटहरी, २० साउन । सुनसरीमा सक्रिय पत्रकारिता गरेका पत्रकारहरुको दुर्घटना बीमा गराएको प्रेस युनियन सुनसरीले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो ।
युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो ।
अधिकारीले भने, ‘ती मध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए । ‘प्रदेश १ मै पहिलोपटक पत्रकारहरुलाई यसरी दुर्घटना बीमा गर्नु र रकम दिनु नौलो सुरुवात हो । ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलोपटक विशुद्ध बीमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’
६ दिन अघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँका सिईओ कुमारबहादुर खत्रीलाई युनियनका अध्यक्ष अधिकारी र नेपाल प्रेस युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीले दुर्घटना बिमित पत्रकारको डकुमेन्ट बुझाएका थिए । एक हप्ताभित्र रकम प्राप्त हुने आश्वासन पाएको केहीदिनमै रकम प्राप्त भएसँगै बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो ।
अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् । ‘पहिलेको लटमै कोरोना लागेका तीनजनासहित १५ जनाको रकम आउन बाँकी छ,’ अधिकारीले भने, ‘सरकारबाटै पैसा रोकिएका कारण उपलब्ध नभएकाले वितरण गर्न पाइएको छैन, रकम आउने आश्वासन पाएका छौँ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए । पत्रकारहरुको हितमा काम गर्नका निम्ति चाहेको अवस्थामा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनको तर्क छ ।
वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका विराट गौतम (अनुपम) ले पैसा बुझिसकेपछि युनियनले पत्रकारहरुको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने, ‘दुर्घटना बीमा नगरेको भए ठूलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’