काठमाडौं । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।
सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको लिखित आदेशमा विमानस्थल बनाउने कुरामा रोक नलगाएको हो। विमास्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुनेगरी विकल्प खोज्न फैसलामा भनिएको छ ।
‘विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्युनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आश्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नु’, फैसलामा भनिएको छ, ‘विमानस्थल निर्माणका लागि रुख विरुवा काट्नुपर्ने अवस्था देखिएमा वन क्षेत्रभित्र काटिएका रुखको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानुनबमोजिम र तोकिएको मापदण्ड अनुरुप नयाँ रुख विरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवगस्था गर्नू।’

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले यस्तो फैसला गरेको हो। फैसलामा हरिकृष्ण कार्की र मनोजकुमार शर्माको मत फरक छ। बृहत् पूर्ण इजलासमा दुई न्यायाधीशले फरक मत राख्नुभएको भए पनि तीन जना न्यायाधीशले राखेको राय नै अन्तिम फैसला हुनेछ।







