दमक । झापा जिल्लाको मेचीनगर नगरपालिका ७ जोरसिमल स्थित पूर्वपश्चिम लोकमार्गबाट असार १७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईलको एल.सि.डी. ४ सय २० वटा र डिस्प्ले ६ सय ९० वटा बरामद गरेको छ ।
डब्लु बी ७४ बि ई १००३ भारतीय नम्बरको कारमा राखि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कांकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले उल्लेखित कार समेत बरामद गरेको छ । बरामद सामान तथा कार भन्सार कार्यालय मेचीमा बुझाईएको छ । बरामद कारको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले असार १७ गते करीब १ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ स्थित रघुनाथपुरबाट बरामद गरेको हो ।