काठमाडौं २ असार । लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ।
अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ। नारायणी नदीमा पानीको सतह ८ मिटर पुगे खतराको तह पार गरेको मानिन्छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार हिजो बेलुकी ११ बजेतिर नारायणी नदीको देबघाट मापन केन्द्रमा पानीको सतह १० दशमलव २४ मिटरभन्दा माथि पुगेको छ।
नारायणीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ। हिजो साँझै नारायणीको देवघाट क्षेत्रमा जल सतहले खतरास्तर पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ।
बाढीका कारण मनाङ र लमजुङमा पनि भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार मनाङको चामेमा बाढीले चार घर बगाएको र पाँच घरमा क्षति पु¥याएको छ। घट्टेखोला र च्याटुखोलामा आएको बाढीले चामे बजार डुबेको छ।
चामे बजारका २ सय स्थानीयलाई कारागारको भवनमा सारिएको छ। बाढीका कारण विस्थापितहरुको व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले काम गरिरहेको जनाइएको छ।
यस्तै, मनाङको दोर्दी खोलामा आएको बाढीले २ वटा घर बगाएको छ। दोर्दी खोलामा आएको बाढीले हिजो साँझ दोर्दी गाउँपालिका–८ हिलेबजारस्थित चतुरे विक र कन्या तामाङको घर बगाएको हो।
दोर्दी खोलाको बाढीले दोर्दी गाउँपालिका–६ कृतिपुरका कृष्ण घलेको कृषि फार्म समेत बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भुभागमा ठूलो पानी परेको छ।
आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। झरी पर्ने प्रणाली केही दिनमा पूर्वतिर सर्दै जाने प्रक्षेपण गरिएको छ।
नेपालमा मनसुन सक्रिय भएयता रसुवा, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, कालिकोट, बाजुरा, अछाम, बैतडी र दाचुृलामा पहिरो गएको छ।
बाग्लुङ, बाजुरा, दैलेख, मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा बाढी गएको छ।