काठमाडौँ २१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने विकल्प अस्वीकार गर्दै भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन गराइछाड्ने बताएका छन् ।
बुधबार बसेको शीर्ष तहको बैठकमा पौडेल पक्षले १३ औं महाधिवेशनका प्रतिनिधि सहभागी हुने गरी विशेष महाधिवेशनमार्फत दुई वर्षका लागि तदर्थ समितिको निर्वाचन गराउने प्रस्ताव अघि सारेका हुन् । ‘कुनै पनि हालतमा म महाधिवेशन गराइछाड्छु ।’ ‘विकल्प सोच्ने कुरा छैन, भदौमै महाधिवेशन हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ।
पौडेलले क्रियाशील सदस्यताको विवाद मिलाउन गम्भीर नबनेको भन्दै आशंका प्रकट गरेका पौडेलले अन्य पार्टीबाट आएकाहरूलाई समायोजन गर्ने नाममा महाधिवेशन प्रभावित हुने गरी सदस्यता बाँडिएकोे आरोप लगाए । पौडेलले विधि र प्रक्रियाविपरीतका सबै सदस्यता स्थगन गरेर अघि बढ्नुपर्ने विकल्प पनि अघि सारेका थिए ।
संस्थापनइतर पक्षबाट पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत र सहयोगीका रूपमा नेता मीनेन्द्र रिजाल बैठकमा संस्थापन पक्षबाट देउवाका अतिरिक्त सहभागी थिए । समायोजनसँग सम्बन्धित सदस्यतामा देखिएको विवाद मिलाउन नसकेपछि सदस्यता छानबिन समितिले शीर्ष नेतालाई जिम्मा दिएको थियो । शीर्ष नेताहरूबीच नै विवाद बढेपछि समयमै महाधिवेशन हुनेमा अन्योल खडा भएको हो ।
पौडेल पक्षले भदौ १६–१९ मा महाधिवेशन गर्न नसके पार्टीको वैधानिकता जोखिममा पर्ने भन्दत्यसबाट बचाउन विशेष महाधिवेशनको ‘कार्ड’ अघि सारेको हो । ‘महाधिवेशन हुन्छ भनेर मात्रै हुन्न । ‘भदौ २३ बाट यो कार्यसमितिको अस्तित्व समाप्त हुन्छ । त्यसपछि म्याद थप्ने कार्यमा हामी संलग्न हुने छैनौं,’ बैठकमा पौडेलले भनेका थिए, क्रियाशील सदस्यता टुंग्याउन पनि गम्भीर हुनुपर्छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद मिलाउने प्रयास जारी रहेको बताए । ‘हात्ती छि¥यो, पुच्छर अड्कियो’ को अवस्था छ । सहयोग गरे सहज रूपमा टुंग्याउन सकिन्छ,’ उनले भने, ‘सदस्यतालाई ठूलो समस्याका रूपमा नलिई समन्वय गरेर जान सके अझै पनि तोकिएकै मितिमा महाधिवेशन सम्भव छ ।’ महतले सभापति देउवा तोकिएकै मितिमा महाधिवेशन गराउन लचिलो भएको बताए ।







