विराटनगर । विराटनगरमा तीन दिने सामुदायीक स्काउट क्याम्प शुक्रबारदेखि सुरु भएको छ । नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सुरु भएको क्याम्पको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले एक कार्यक्रमका बिच उद्धाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आङ्वोले क्यापले विद्यार्थीहरुलाई सिकाएको एउटा नया अभ्यास गराउने बताए । प्रमुख अतिथि समेत रहेका मन्त्री आङ्वोले क्याम्प अवधिभर सुरक्षा तथा स्वास्थ्यको व्यवस्थापन सरकारले लिने बताउँदै देश बनाउनका निम्ति आफूबाटै सुरुवात गर्नुपर्ने भएकाले स्काउटले आफूलाई जिम्मेवार बनाउन सिकाउने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अनुशासन सिकाउने काम स्काउटले गर्ने भएकाले भोलिका दिनमा हामीले दैनिक जीवनमा के गर्ने भन्ने कुरा क्याम्पले सिकाउने बताए । यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीले स्काउटमा राजनीतिकरण बढ्दै गएको तर्फ चिन्ता व्यक्त गर्दै स्काउटलाई विशुद्ध सामाजिक कार्यमा लाग्नका लागि जोड दिनुपर्ने बताए ।
विराटनगर वडा नं १२ सम्पन्न बस्तीमा सञ्चालित क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरु, शिक्षक, स्काउट रेन्जर लगायतले सहभागिता जनाएको क्याम्प प्रमुख दिवश राजवंशीले बताएका छन् । उनका अनुसार क्याम्प अवधिभर विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाउने छन् ।
कार्यक्रम अन्तरगत शनिवार क्याम्प फायरका साथै आइतबार समापन समारोह रहने छ । वडा नं १२ का वडा अध्यक्ष हिरालाल कामतले सामुदायीक क्याम्पका लागि बस्ति नै छानेकोमा खुसि व्यक्त गर्दै क्याम्पलाई सक्दो सहयोग गरेको बताएका छन् ।
विपन्नलाई सम्पन्न बनाउनका लागि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बस्ति निर्माणको अगुवाई गरेको र त्यसै ठाँउमा क्याम्प संचालन हुनुले विद्यार्थीले आफुमा नेतृत्वदायी भूमिका कस्तो हुनुपर्ने रहेछ भन्ने कुरा पनि सिक्ने बताएका छन् ।