बैतडी । नेपाली सेनाको टोलीले बैतडीका दुई स्थानमा भेटिएकाे शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।
दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिक सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा आज मंगलबार बिहान शंकास्पद वस्तु भेटिएका हुन् ।
बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोलीले ती शंकास्पद वस्तुहरु निष्क्रिय पारेको उक्त्त गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए । गुल्मका सहसेनानी क्याप्टेन नवराज फूँयालको नेतृत्वमा बम डिस्पोजल टोलीले ती दुवै शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।
उक्त्त शंकास्पद वस्तु कसले र किन राखेको भन्ने अहिलेसम्म खुल्न नसकेको सेनाले जनाएको छ । विप्लव नेतृत्वको नेकपा सहितका चार राजनीतिक दलले मंगलबार नेपाल बन्द आह्वान गरेकाले उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
बन्दका काराण बैतडीमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।