काठमाडौं । आशन्न मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण देखिएको छ । नेपाली कांग्रेस लगायतका प्रमुख दलहरुको गठबन्धन निर्वाचनको कसरतमा लागिरहदा एमाले भने एक्लिएको छ ।
त्यसो त पार्टीको अवस्था अन्य दलहरुको तुलनामा कमजोर देखिपनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन् । स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए ।
सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछि एमाले चुनौतीपूर्ण दबाबमा छ । स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले पार्टीको संगठन अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा केही नेताले सत्तारुढ दलबीच गठबन्धन नभए एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय हाराहारी स्थानमा जित्ने बताएका थिए । उनीहरूले समानुपातिक निर्वाचनतर्फ पनि पार्टीले अग्रस्थान जित्ने आधार पेस गरेका थिए ।