इटहरी । एमएम रेडियो संचालकहरुको संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का नवनिर्वाचित महासचिव नवीनबाबु राईले एफएम रेडियोहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन रेडियोहरुको वार्गीकरण आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेडियोहरुको स्थायित्व र बिकाशका लागि रेडियोहरुको वर्गीकरण आवश्यक रहेको बताएका हुन् ।
‘रेडियो कसले खोल्ने ? भन्ने कुराको पनि उत्तर खोजिनुपर्छ,’ उनले भने, ‘रेडियोको वर्गीकरण हुनुपर्छ भन्ने हाम्रो एकसुत्रीय माग हो, रेडियोको भविष्य छ ।’
नेपालमा भएका हरेक सामाजिक, राजनीतिक परिवर्तनहरुमा एफएम रेडियोहरूको योगदान ठूलो रहेको बताएका छन् । भने, ‘राज्यको परिवर्तनमा रेडियोको ठूलो योगदान छ, बाना नवनिर्वाचित टिमले रेडियोहरूको स्तरोन्नतिका लागि विशेष काम गर्छ ।’
उनले नीतिगत रूपमा राज्यबाट अफ्ट्यारा भएकाहरूमा सहजीकरण गर्नमा नयाँ टिमले काम गर्ने बताए । रेडियोको व्यवस्थापकीय पक्ष कमजोर भएकाले पनि यस क्षेत्रमा अफ्ट्याराहरू आइपरेको उनले बताए ।
उनले भने, ‘रेडियोको व्यवस्थापकीय पक्ष कमजोर छ, राज्यमा उद्योग, धन्दा चलेमात्रै रेडियो चल्छ ।’
गत शनिबार र आइतबार भएको अधिवेशनले बानको अध्यक्षमा कुमार भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, महासचिवमा उदयपुर घर भएका राईसहितको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
शुक्रबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, सचिव विवेक भट्टराई लगायतले महासचिव राईलाई टोपी तथा खादा ओढाएर स्वागत एवम् बधाई ज्ञापन गरेका थिए ।