पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार (आज) देखि कास्कीको पोखरामा सुरु भएको छ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको आज एक समारोहबिच पोखरा रङ्गशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरेका थिए ।
त्यस अवसरमा गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरेभने युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले झन्डोत्तोलन गरेका थिए ।
उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । उद्घाटन समारोहमा नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने ११ टिमको मार्चपास, झाँकी, नृत्य, गायन लगायत आतिसबाजी समेत गरिएको थियो ।
नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।











