काठमाडौं । निर्णयको चर्को विरोध भएपछि मिडियाले निर्वाचन आचार संहिता पालना गरे नगरेको आफैँ अनुगमन गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।
‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरेर सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर मिडिया अनुगमन गर्ने तयारीप्रति चर्को विरोध भएपछि आयोग पछि हटेको हो ।
शुक्रबार बसेको आयोगले बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता कार्यान्वनय भए नभएको अनुगमन गर्न प्रेस काउन्सिललाई जिम्मा दिने निर्णय गरेको हो।
आयोगको निर्णयमा भनिएको छ, ‘सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक धारा १९०, सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भएरनभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने।’
अघिल्ला चुनावहरुमा मिडिया अनुगमनको जिम्मेवारी काउन्सिलले नै गर्ने गरेको थियो।