काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घनका विषयमा राजनीतिक दलहरुसँग स्पष्टीकरण सोधेको छ ।
राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो ।
उम्मेदवार खनालले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचार–प्रसार गरेबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदातासमेतलाई भ्रमित गर्ने गरी गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।