मोरङ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कृषिजन्य वस्तुको उत्पादनलाई बढाउनुपर्ने बताएका छन् ।
मेयर कोइरालाले बढ्दो आयात प्रतिस्थापन गर्न सहरी क्षेत्रमा समेत कौसी खेती गरेर आयात घटाउन सकिने विचार व्यक्त गरेका हुन् ।
विराटनगरमा ‘रैथाने खाद्य तथा कृषि मेला’को उद्घाटन समारोहलाई सम्बोधन गदैै कोइरालाले महानगरले समेत कौसी खेतीलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरेका छन् ।
मेयर कोइरालाले भने, ‘हामी कस्तोसम्म भएछौं भने धनियाँको पत्तासमेत आयातमा निर्भर हुन थालेछौं । यी वस्तु त कौसी र करेसाबारीमै पनि उत्पादन गर्न सकिन्छ, ‘सबैले कौसी र करेसाबारीमा तरकारी उत्पादन गर्ने हो भने वार्षिक रूपमा १७ अर्ब रुपैयाँको तरकारी आयातलाई प्रतिस्थापन गर्न सकिन्छ ।’
देशको कृषि नीति परिवर्तन गर्नुपर्नेमा जोड दिंदै कोइरालाले महानगरले कृषि र गैरकृषि क्षेत्र छुट्याउने काम गरिरहेको जानकारी दिए । उनले महानगरले वडास्तरबाटै कृषि र गैरकृषि क्षेत्र छुट्याउने काम गरिरहेको पनि जनकारी दिए ।







