काठमाडौं । पार्टीबाट ‘विद्रोही’ उम्मेदवारहरूलाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था नेपाली कांग्रेसले गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस र गठबन्धनका उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवारी दिएकाहरूका लागि कांग्रेसले यस्तो व्यवस्था गरेको हो। सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
कांग्रेसले यस्ता उम्मेदवारहरूलाई गत असोज २६ गते अपराह्न १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन भनेको थियो । फिर्ता नलिने उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई पार्टीको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिने पनि भनेको थियो ।
अब कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने जानकारी कांग्रेसले गराएको छ । त्यस्ता उम्मेदवारले पार्टी र गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्नुपर्ने पनि कांग्रेसले विज्ञप्तिमार्फत भनेको छ ।