काठमाडौं २४ साउन । माधव नेपाल पक्षले पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै आपत्ति जनाएपछि आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
एकतालाई ध्यानमा राखेर बैठक सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । बैठक भोलि बस्ने गरी स्थगित भएको हो ।
माधव नेपाल पक्षले बैठक सार्न दबाब दिएको थियो । पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने नेपाल पक्षको भनाई थियो ।
एक दिनका लागि मात्रै बैठक सारिएको भन्दै नेपाल पाक्षले असन्तुष्टि जनाएको छ । केही दिन बैठक सारेर कार्यदलले तयार पारेको दश बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएपछि पार्टी एकता कुनै टाढाको विषय नभएको नेता भीम आचार्यले बताए ।
अध्यक्ष केपी ओली पक्षले गत हप्ता बसेको निकट स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो । स्थायी कमिटी बैठकले निर्णय गरेसँगै नेपाल पक्षले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णयमा आपत्ति जनाएको थियो ।