काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आज आफ्नो दलको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक भइसकेपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको मूल एजेण्डा भएको र यसलाई संविधान संशोधन मार्फत अघि बढाउन सकिने बताए ।
अध्यक्ष दाहालले नेपालको आर्थिक समृद्धिका लागि अब आफूहरूले सम्पूर्ण तागत लगाएर काम गर्ने उल्लेख गर्दै नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाइने र स्वास्थ्य र शिक्षामा राज्यको जिम्मेवारी हुने गरी काम गर्दै जाने बताए ।
दाहालले आफ्नो दलले नीतिगत, योजनागत र कार्यक्रमगत रुपमा प्रतिबद्धता पत्र ल्याएको उल्लेख गर्दै राज्यका सबै जनताले साँच्चै अनुभूति हुनेगरी काम गर्ने तर्फ आफूहरू प्रतिबद्ध भई लाग्ने उनको भनाई छ ।
संविधानको रक्षा र मुलुकको आवश्यकताका कारण गठबन्धन गरिएको उल्लेख गर्दै गठबन्धन दलहरुबीचको सहकार्यबाट मुलुकलाई सबै मिलेर अग्रगतितर्फ लैजाने उनले बताए ।
माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रत्यक्ष रुपमा निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिइएको छ ।
त्यसक्रममा सो पार्टीले प्रत्यक्ष रुपमा निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, विभिन्न स्थानको परिवेशलाई मध्यनजर गरी स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र स्थापना गर्नुपर्ने लगायतका विषयलाई अगाडि सारेको छ ।
यस्तै राज्यका अरू निकायका संरचनामा पनि परिवर्तन आवश्यक रहेको माओवादीले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रले उच्च स्तरीय सम्पत्ति छानबिन आयोगको गठन गर्ने र २०४७ पछि सार्वजनिक पद धारणा गरेकाहरूको सम्पत्ति छानबिन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोबी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउनेलगायतका योजना तथा कार्यक्रमहरू उल्लेख गरिएका छन् ।
यसैगरी चक्रपथ वरिपरि र बुढानीलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।
यस्तै देशका पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।