काठमाडौँ २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन नगराएर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पु¥याएको आरोप लगाएका छन् ।
१४ औँ महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि नेपाली कांग्रेसका नेता पौडेलले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत संविधानको व्यवस्थालाई टेकेर भदौमा गर्ने भनिएकोमा फेरि पनि मिति सारेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पु¥याइएको टिप्पणी गरे । सभापति देउवाले पार्टीलाई असफलता तर्फ लगेको आरोप पौडेलको छ ।
नेता पौडेलले सञ्जालमा लेखेका छन्, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो ।
आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।
यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?
यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’







