काठमाडौं २५ साउन । लुम्बिनी प्रदेशका सरकार पक्षका सांसद अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालत समक्ष जाने भएका छन् । प्रदेश प्रमुखले दुई दिन पछि अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अबिधेशन आह्वान गरेपछि लुम्बिनी का सांसद अदालत जाने भएका हुन् ।
सरकार पक्षीय कानून व्यवसायीले प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गर्न लागेको रिट आइतबार सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्चले दर्ता गर्न अस्वीकार गरे पछि सरकार पक्षका सांसद नै अदालत जान लागेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सरकार पक्षका सांसद सर्वोच्च जान लागेका हुन् ।
३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । हस्ताक्षर गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतको सहभागि थियो । अविश्वासको प्रस्तावमाथि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि छलफल हुँदैं छ ।
काठमाडौंमा रहेका सत्तापक्षका सांसदहरु रिट लिएर सर्वोच्च जाने तयारी भएको जानकारी सरकारका प्रवक्ता चौधरीले दिनु भयो । अविश्वासको प्रस्ताव माथिको छलफलका लागि विपक्षी दलले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।







