काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गर्नुपर्ने बताएका छन् ।
आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी, लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । देशभरका १०, ८९२ मतदानस्थलका २२,२२७ मतदान केन्द्रबाट मतदान कार्य आरम्भ भइसकेको पनि उनको भनाई छ ।
थपलियाले भने, ‘अपाङ्गता भएका व्यक्तिबाट प्रारम्भ गर्यौँ । हामीले दिन खोजेको सन्देश के हो भने, मतदान केन्द्रलाई आयोगले यो पल्ट अपाङ्गतामैत्री बनाउने प्रयास गरेको छ, स्थानीय तहको निर्वाचनको अनुभवले पनि यो सिकाएको छ । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, काखे बच्च भएकालाई मतदानमा सहजीकरण गरिदिनुहोस् ।’
आफ्ना परिवारका चार जना सबै सदस्य मतदानमा सहभागी भएको बताउँदै हिमाली जिल्लाहरूमा ठ्याक्कै ७ बजे मतदान कार्य प्रारम्भ हुन नसकेपनि केही समयपछि मतदान कार्य सुरु हुने बताए ।
स्थानीय तहको निर्वाचनको तथ्याङ्क अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुने उनको भनाइ छ ।