काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीकाे पक्षमा रहेको बताएका छन् । मगंलबार सिंहदरबारमा रहेको नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा उनले सो धारणा राखेका हुन् । उनले सो कार्य गर्नको लागि आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए ।
‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको छ ।’ उनले भने, ‘आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।’
प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान निर्माणसँगै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपश्चात् टेलिभिजनले आफ्नो विषयवस्तुको विविधता बिस्तारकोमा खुसी व्यक्त गर्दै भने, नेपाल टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।’
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यका रूपमा स्थापित बहुभाषिक, बहुसांस्कृतिक यथार्थ र चरित्रलाई समेत गहिरो गरी आत्मसात् गर्दै सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना, समाचार र सामग्रीलाई नेपालभित्र बोलिने मातृभाषाका माध्यमद्वारा सूचनाको पहुँच आम जनतासम्म पु¥याउन टेलिभिजनले खेलेको भूमिकाकाे प्रशंसा गरेका थिए ।
नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएको बताउँदै प्रधानमन्त्री दाहालले राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप यस टेलिभिजनको भूमिका र महत्त्वलाई थप प्रमाणित गर्न आवश्यकतामा जोड दिएका थिएका थिए ।