इटहरी । इटहरी स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका विद्यार्थीहरू अतिरिक्त शैक्षिक क्रियाकलापको अभ्यासमा समेत अब्बल देखिएका छन् ।
आइतबार (आज) एक समारोहबीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले कक्षाकोठामा हुने शैक्षिक क्रियाकलाप बाहेकका अन्य भएका अन्तरनिहीत क्षमताहरु प्रस्तुत गरेका हुन् ।
विद्यालयको आयोजना भएको कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिबल, हस्तकला प्रदर्शनी र मोर्डन सिंगिङ स्टार कार्यक्रमको आयोजना गरिएकोमा विद्यार्थीहरूले आँफैले बनाएका खानेकुराहरु सहित विज्ञानका गतिविधिहरु र ‘आर्ट एण्ड क्राफ्ट’ प्रदर्शनी गरिएको थियो ।
यसैगरी, विद्यालयका कक्षा दुई देखि दश सम्मका विद्यार्थीहरुको सहभागितामा यसै वर्ष देखि आयोजना गरिएको गायन प्रतियोगिता ‘मोडर्न सिंगिङ स्टार २०७९’ अन्तरगत विभिन्न चरण पार गरेर छनोट भएका उत्क्रिष्ट पाँच जना विद्यार्थीहरुको सहभागी अन्तिम चरणमा भएको प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र उज्वल निरौला प्रथम भएका छन् । यस्तै, कक्षा ५ मा अध्ययनरत मीनाक्षी अधिकारी द्वितीय र कक्षा ९ मा अध्ययनरत श्यामुयल मोक्तान तृतीय भएका हुन् ।
उनीहरू पहिला छनौट भएर टप ५ भित्र आएका थिए । जसमध्ये उत्कृष्ट भएका ती विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ । ‘अध्ययन भनेको पाठ्यक्रम मात्रै होइन, त्यो बाहेक बाहिरी कुरा पनि सिक्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो,’ विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले भने, ‘एउटा उत्सवको रूपमा यो कार्यक्रम आयोजना गरिएको हो, यसअघि पनि विद्यार्थीहरूको क्षमता अभिवृद्विका लागि विविध कार्यक्रमको आयोजना गरिदैँ आइको छ ।’
विद्यालयले उक्त गायन प्रतियोगितालाई ‘सेरिजको’ रुपमा आगामी वर्षहरुमा पनि निरन्तरता दिने जनाएको छ । इटहरीमा रहेका संस्थागत विद्यालयहरु मध्ये पुरानो विद्यालय मानिने उक्त विद्यालयले पाठ्यक्रममा भएका किताबी कुरामात्रै भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ ।
उनले भने, ‘किताबी कुराले कक्षामा उत्तीर्ण गर्नका लागि सहज हुन्छ, तर व्यवहारिक ज्ञानले जीवन निर्वाहका लागि सहज हुने भएकाले हामीले व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आएका छौँ । आजको समयमा सैद्धान्तिकसँगै समय सुहाँउदो व्यवहारिक सिकाईमा विद्यार्थीहरुलाई संलग्न गराउंदै आएका छौं ।’
कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडर्जोनी विशेषज्ञ प्राध्यापक डाक्टर पशुपती चौधरीले विद्यालयले यो किसिमको कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको बताए । उनले विद्यार्थीमा भएको क्षमता आफ्ना अभिभावका अगाडि प्रस्तुत गर्दा पनि विद्यार्थीलाई प्रोत्साहन हुने बताए ।
उनले भने, ‘विद्यार्थीहरूले आफ्ना अभिभावकका अगाडि गायन, नृत्य तथा विभिन्न रचनात्मक गतिविधि गर्दा उनीहरूमा हौसला पुग्छ, सो कारणले किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि बढ्छ ।’
जीवनमा सफलताको लागि कडा मेहनतको विकल्प नभएको बताउँदै उनले विद्यालय तहमा गरिने यस किसिमको कार्यक्रमहरुले विधार्थीको चौतर्फी विकासमा निकै महत्वपूर्ण योगदान पुग्ने बताउँदै कार्यक्रम आयोजना गरेकोमा डा. चौधरीले विद्यालय परिवारलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका अधिकृत सुधीर साफीले विद्यार्थीमा भएका रचनात्मक कुरा प्रस्तुत गर्ने सकारात्मक माध्यम उक्त कार्यक्रम भएको बताउँदै विद्यालय तहमा गरिने यस्ता कार्यक्रमले विध्यार्थीको क्षमता विकाशमा ठुलो प्रभाव पार्ने बताए ।
बिद्यालयमा आफ्ना दिनहरुको स्मरण गर्दै उनले भने, ‘यस्ता किसिमका कार्यक्रमले विद्यार्थीहरूको संर्वाङ्गीण विकासमा सहयोग पुग्छ, यसले पनि यस्ता कार्यक्रम आवश्यक देखिन्छ ।’
विद्यालयका प्रधानाध्यापक भीम श्रेष्ठले कक्षामा सिकेका ज्ञान व्यवहारिक रूपमा उतार्नका निम्ति यो किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।
‘कक्षामा सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतार्न र व्यवहारिक ज्ञानलाई प्रयोगमा ल्याउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा पनि विद्यार्थीहरूको अन्तरनिहीत क्षमतालाई अभिभावकसामु पुर्याउनका निम्ति रचनात्मक कार्यक्रमको आयोजना गर्नेछौँ ।’
गायन प्रतियोगितामा निर्णायक रहेकी गायिका ऋचा काफ्लेले प्रतियोगी बिद्यार्थीहरुको प्रस्तुतिको सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा सिझाव दिएकी थिइन् ।
बिद्यालयले पाठ्यपुस्तकमा पढाई हुने विषयहरुलाई व्यवहारिकरुपमा बुझाउने अभ्यासहरु संगै विद्यार्थी, शिक्षक/शिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न तालिम लगायत अन्य क्रियाकलापहरुको आयोजना गर्दै आएको छ भने अभिभावकहरुका लागि समेत ‘प्यारेन्टिङ्ग’ र मनोवैज्ञानिक परामर्शका लागि तालिमहरु सञ्चालन गर्दै आएको छ ।
विगत चालिस हप्ता देखी प्रत्तेक शुक्रबार स्वैच्छिक रुपमा आआफ्ना सांस्कृतिक पोसाक लगाउन उत्प्रेरित गरिरहेको विद्यालयले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सामाजिक अन्तरघुलन र सामाजिक दायित्व निर्वाहका लागि रेडक्रस, स्काउटका क्रियाकलापसँगै बाल क्लब मार्फत विद्यालयले सामाजिक क्रियाकलाप र क्षमता अभिवृद्धिका लागि समेत कार्यक्रमहरु गर्दै आएको छ ।