इटहरी । मिडिया र सामाजिक सञ्जालमा आइरहने झुटा तथा भ्रामक समाचारका बारेमा सचेतनाका लागि कोशी प्रदेशमा प्रदेश स्तरीय कार्यशाला संचालन हुने भएको छ ।
झुटा तथा भ्रामक समाचार विरुद्द सचेतना फैलाउने र गलत सूचना बिरुद्द जुध्न सीप र ज्ञानहरु प्रदान गर्ने उद्देश्यले अमेरिकी राजदुतावासको आर्थिक सहयोगमा ‘युथ इनोभेसन ल्याब’ ले उक्त कार्यशाला आयोजना गर्न लागेको जनाएको हो ।
सूचना र प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा बढ्दो गलत सूचनाको प्रवाहलाई निरुत्साहित गर्न ‘युथ इनोभेसन ल्याब’ सँगको सहकार्यमा अमेरिकी दुतावासको आर्थिक सहयोगमा कार्यशाला आयोजना गर्न लागिएको ल्याबका कार्यक्रम प्रमुख सुयोग ढकालले जानकारी दिए ।
कार्यक्रम प्रमुख ढकालका अनुसार विराटनगरमा संचालन हुने उक्त कार्यशालामा कोशी प्रदेशका पत्रकार, लेखक, युवा नेता र अभियानकर्मीहरु सहभागी हुने छन् ।
सूचना प्रविधिको प्रयोगको उल्लेख्य वृद्धिसँगै झुटा तथा भ्रामक सूचनाको व्यापक विस्तार एउटा बढ्दो समस्या बनेको बताउँदै ढकालले भने, ‘कार्यशालाले समाचार र सूचना सामग्रीको निर्माण र उपभोगको सम्पूर्ण प्रणालीमा नै प्रतिकूल असर पार्दै सर्वसाधारणको विचार, तर्क र निर्णयलाई परिमार्जित गर्नुका साथ साथै सर्वसाधारणको विचारधारालाई नै गलत दिशामा लगिरहेको हुँदा भ्रामक सूचना र समाचारका बिरुद्दको कार्यक्रम आयोजना गर्नुपरेको हो ।’
कार्यक्रमको आवस्यकतामा जोड दिंदै उनले झुटा र भ्रामक समाचारको निरन्तर प्रवाहले आमसर्वसाधारण नागरिकको तर्क र निर्णयलाई हेरफेर गर्ने मात्र नभई सम्पूर्ण जनमत माथि नै प्रतिकुल प्रभाव पार्दै वास्तविक रूपमा सूचित हुनुको सार र हाम्रो सु-सूचित हुन पाउने आधारभूत अधिकारलाई नै असर गरेको ढकालको दावी छ ।
उनका अनुसार परियोजनाले देशभरका युवा पत्रकारहरू, सूचना सामाग्री सर्जकहरू, अभियन्ताहरू र युवा नेताहरूलाई तालिम दिएर, झुटा तथा भ्रामक सूचना विरुद्धका अभियन्ताहरूको सञ्जाल बनाउने लक्ष्य लिएको छ ।
उक्त कार्यशालामा सहभागिताका लागि आगामी आगामी चैत १४ गते साँझ ५ :०० बजे सम्म आबेदन दिन सकिने ल्याबकी कार्यक्रम सहायक जोशीले जानकारी दिएकी छन् । उनका अनुसार सहभागिताका लागि अनलाइन फारम भर्न सकिने छ ।








