पूर्वीय तथा पाश्चात्य शिक्षायुक्त पठन पाठन, आवास निर्माण तथा अक्षयकाेष स्थापनाका लागि नारायणहिटी राज दरबार परिसरकाे नारायण मन्दिरमा नारायणी शक्ति उपासना ज्ञान महायज्ञ आयाेजना हुँदैछ । देश विदेशका विद्वान् आचार्य र महन्तबाट दैनिक एक घण्टा प्रवचन समेत हुने आयाेजक समितिले वताएकाे छ । पूर्वीय वेदान्त दर्शन, धर्म संस्कृति, सनातन धर्म, हिन्दु धर्ममा रहेकाे भ्रामिकता लगायतका विषयमा वैज्ञानिक तवरबाट चिरफार गरी प्रष्ट्याइने छ । यसै नारायणी शक्ति उपासना ज्ञान महायज्ञका विषयमा मन्दिरका पीठाधीश आध्यात्मिक युवा पण्डित श्री नारायण चतुर्व्युहसँग नीति सञ्चारका सम्पादक सविन पाेख्रेलले गरेकाे कुराकानी-
१. धर्म के हाे ?
– “धैर्य धारती: धर्म” धैर्य धारण गर्नु नै धर्म हाे । सकारात्मक साेच्नु । अरुलाई दुख नदिनु, चराचर जगत्, प्रकृति र प्राणीकाे सेवा गर्नु नै धर्म हाे ।
२. सनातन अर्थकाे महत्वलाई यहाँले कसरी समस्त जगतलाई बुझाउनु हुन्छ ?
– सनातन भनेकाे वास्तवमा जीवन पद्भति हाे । याे व्यवहारिक रुपमा मानव जीवनमा लागु गर्न याेग्य हुन्छ । धर्म एक मात्र हुन्छ त्याे हाे सनातन । सनातन भनेकाे परम्परागतदेखि चलि आएकाे भन्ने अर्थ लाग्दछ । धर्म भन्दा माथि सनातन रहेकाे छ । सनातनका ९० प्रतिशत कुराहरुलाई हिन्दु धर्मले अबलम्बन गरेकाे छ । बाैद्ध धर्म लगायतका अन्य धर्मले पनि सनातनका धेरै कुराहरु अबलम्बन गरेकाे अवस्था रहेकाे छ ।
३. सनातन धर्ममा महिलाले पूरुषकाे खुट्टाकाे पानी खाएर पुरुष भन्दा तल परेर बस्नु पर्छ भनी एउटा चलन चलि आएकाे छ, त्यसबारे थप प्रष्ट पारि दिनुस् न ।
– हाम्राे वेदमा “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” भनिएकाे छ । जसकाे अर्थ जहाँ नारीकाे सम्मान हुन्छ, जहाँ नारीकाे पूजा हुन्छ त्यहाँ देवता खुसी हुन्छन्, सबैतिर खुसीयालीकाे माहाैल हुन्छ । सुख, शान्ति, समृद्धि हुन्छ भनिएकाे छ । हाम्राे शास्त्रमा नारीलाई तल्लाे दर्जा र पुरुषलाई माथिल्लाे दर्जा भनी कहिँ पनि उल्लेख गरिएकाे छैन । नारी नै ब्रम्हाण्डकाे सृष्टिकर्ता हुन् र उनैबाट विष्णु, शिव लगायतकाे सृष्टि हुन्छ भनेर उल्लेख भएकाे छ । शास्त्रले नारीलाई सर्वाेपरी स्थानमा राखेकाे छ ।
४. नारायणी शक्ति उपासना ज्ञान महायज्ञमा कुन कुन देवी देवताकाे उपासना गरिन्छ ?
– यहि चैत्र ८ गतेदेखि १६ गतेसम्म आयाेजना हुन गई रहेकाे नारायणी शक्ति उपासना ज्ञान महायज्ञ कुनै पनि देवी देवतासँग सम्बन्धित नभएर प्रकृति र ब्रम्हाण्डकाे पूजा हाे । शक्तिकाे केन्द्र नै नारी अर्थात नारायणी हुनु हुन्छ, जसलाई नारायणी, महालक्ष्मी, महामाया जे अर्थले पुकारे पनि नारी शक्तिकाे पूजा उपासना गरिन्छ ।
५. हिन्दु धर्म सम्प्रदायका हरेक अनुयायीले हामीलाई अनुसरण गरे मात्र भगवान्सम्म पुग्न सम्भव छ, भन्छन् । खास कुरा के रहेछ ।
– विकेन्द्रीकरण हुनु राम्राे कुरा हाे तर त्यहि धर्मकाे कुरा लिएर लडाईँ गर्नु अर्थहीन हुन जान्छ । जाे ज्ञानी छ, जाे बाैद्धिक छ, जसले साधना गरेकाे छ उसले यस्ता विषयमा तर्क वितर्क नै गर्दैनन् । अल्प ज्ञान लिएकाले मात्र यस्ताे कुरा गर्छन् । आम जनमानसमा धर्मका बारे रहेका यस्तै यस्तै भ्रमका बारेमा बुझाउनका लागि हामीले याे महायज्ञकाे आयाेजना गरेका हाैँ । धर्म समृद्धि हाे सम्प्रदाय हाेइन ।
६. तपाईँ सनातन हिन्दु धर्मकाे रक्षक हुनुहुन्छ तर नेपालकाे संविधानमा धर्म निरपेक्ष लेखिएकाे छ, संविधानले हिन्दु धर्मलाई वेवास्ता गरेकाे हाे वा के हाे ? यसबारे तपाईँकाे धारणा के छ ?
– संविधानमा धर्म निरपेक्ष भनिएतापनि त्यसकाे अर्थ सनातनदेखि चलि आएकाे धर्म संस्कृतिकाे संरक्षण लगायत धार्मिक र सांस्कृतिक स्वतन्त्रता हाे भन्ने कुरा संविधानमै उल्लेख रहेकाे कारण सबै धर्मलाई समान अधिकार दिनु धर्म निरपेक्ष नै भएन नि । कुनै धर्मकाे अपेक्षा नगर्ने र सबै धर्मकाे सम्मान गर्नु नै धर्म निरपेक्ष हाे ।
७. तपाई नेपालमा हिन्दु धर्म कायम हुनुपर्छ र राजतन्त्र फर्किनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
– राज्य गर्नेलाई राजा भनिन्छ, सत्कर्म गर्नेलाई राजा भनिन्छ । यहाँ देशकाे समृद्धि, विकास गर्ने राजा चाहिएकाे छ, व्यक्ति राजा आम नेपाली जनताले खाेजकै हाेइन । हाम्राे शास्त्रमा “जन्मना जायते शुद्र, कर्मणा द्वीज उच्चयते” अर्थात जन्मिँदा हामी सबै शुद्र हाैँ, हामीलाई संस्कारले महामानव बनाउँछ भनी लेखिएकाे छ । राज्य गर्ने व्यक्ति असल हुनु पर्छ त्यहि नै राजा हाे । नेपाल हिन्दु राज्य हैन सनातन राज्य हुनु पर्छ ।
८. नारायणी शक्ति उपासना ज्ञान महायज्ञमा कहाँ कहाँबाट कस्ता कस्ता व्यक्तित्वहरुकाे आगमन हुँदैछ ?
– याे महायज्ञमा देश विदेशका विभिन्न सनातनीहरुकाे समावेशीकरण हुन्छ । जसमा वैज्ञानिक आध्यात्मिक प्रवचन हुन्छ । विभिन्न क्षेत्रका विद्वानहरुबाट वैज्ञानिक तवरबाट याेग, विज्ञान र वेदकाे बारेमा प्रवचन हुन्छ । याे नितान्त रुपमा प्रकृति संगत हुनेछ ।







