काठमाडौं । संघीय निजामती सेवा ऐनको मस्यौदामा आफुहरु असहमत रहेको बताउँदै आएका निजामती कर्मचारीहरूले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई मोबाइलमा म्यासेज पठाएका छन् ।
मन्त्रालयले सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले उठाएका विषय नसमेटिएको भन्दै कर्मचारीहरूले मन्त्री र सचिवलाई म्यासेज पठाएका हुन् ।
‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन। पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्षभन्दा बाढी सेवा भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस्,’ कर्मचारीहरूले पठाएको म्यासेजमा उल्लेख छ ।
सहसचिव र उपसचिव तहको खुला प्रतिस्पर्धामा सहभागी हुने कानूनी व्यवस्था हुनुपर्ने, अधिकृत छैटौं तहको पदपूर्तिमा ५०, खुलामा ४० र बढुवा १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुनुपर्नेजस्ता विषय उठाउँदै उनीहरूले म्यासेज गरेका हुन् ।
राजपत्र अनंकित कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐनमा विभिन्न माग समावेश गर्नुपर्ने भन्दै लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् ।







