उदयपुर । उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरु भएको छ । यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको हो ।
लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने वृहत योजना सुरु भएको बताए । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा एक अर्ब ५८ करोड १६ हजार पाँच सय ५० लागतमा आयोजनाको कार्य सुरु भएको हो ।
फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन् । योजनाको पहिलो चरण्मा ट्याङ्की निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ ।
दोस्रो चरणमा तीन वटा स्थानका ठूला ट्याङ्कीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ । योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै तीन हजार, रौतामाका दुई हजार र ताप्लीका तीन हजार पाँच सय घरपरिवार लाभान्वित हुनेछन् ।
वि.सं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन । आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने एक प्रतिशत रकम गाउँपालिका मार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताए ।