विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका १० बरपीपल टोलकी बाटुली विश्वकर्माको प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माले निःशुल्क उपचार गराइदिएका छन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गराइदिएका हुन् ।
रोगले सताए पनि उपचार गर्ने पैसा नहुँदा पीडा सहेर घरमै बसिरहेकी उनका श्रीमानको प्रेसरले हानेर गतवर्ष निधन भएको थियो ।
छोराछोरी पनि नभएको र सहाराको छटपटीमा रहेकी विकले उपचार गर्न नसकेको थाहा पाएपछि डा. शर्माले अस्पतालमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।
करीब एक साता अस्पतालमा राखेर उपचार गराएपछि विकको स्वास्थ्यमा सुधार आएको छ । ‘उपचार गर्ने पैसा नहुँदा दुखाई पीडा सहेर भएपनि घरमै बसिरहेकी थिए । यसरी सित्तैमा उपचार पाउँछु भन्ने सोचेको पनि थिइन,’ विकले भनिन्, ‘सुनील सरले धेरैलाई सहयोग गर्नुभएको सुनेकी थिएँ, समस्यामा परेका बेला अहिले आफैँले सहयोग पाए ।’
मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. शर्माले चुनाव जितेलगत्तै आफ्नो चुनावी बाचाअनुसार आफ्नो क्षेत्रका जनताको उपचारका लागि नोबेलमा ५० शैयाको क्याबिन निःशुल्क उपलब्ध गराइरहेका छन् ।