काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याउने आगामी बजेट आशा जगाउने खालको आउनुपर्ने बताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम मााथिको छलफलमा भाग लिदै उनले बजेट नीति, नियत र क्षमतामा टेकेर यथार्थपरक, विश्वसनीय र आशा जगाउने गरी आउनु पर्ने बताएका हुन् ।
सांसद वाग्लेले मुलुकको क्षमता, नीति र कार्यान्वयन लगायतको नियतलाई राम्रोसँग बुझेर बजेट निर्माण हुनुपर्नेमा जोड दिए । उनले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज मात्रै भएको पनि बताए ।
वाग्लेले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अल्मल्लिएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको पनि बताए ।
उनले जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरे । त्यसैगरी पूर्वाधारको मोडलमा पनि पुनः विचार गर्नुपर्ने उनको भनाई छ ।