इलाम, ः सुर्योदय र सूर्योस्थको दृश्यावलोकनका लागि इलामका विभिन्न स्थान परिचित छन् । जिल्लाको सन्दकपुर, अन्तुडाँडा, झण्डीडाँडा जस्तै सूर्योदय र सूर्यास्थ दृश्यावलोकनको लागि चर्चित ठाँउहरु भएपनि पछिल्लो समय रोङ गाउँपालिका वडा ३ मा रहेको गुगल डाँडाले चर्चा पाउन थालेको छ । जहाँबाट सूर्योदयको मनोरम दृश्यावलोकनका साथै हिमाल र तराईका फाँटहरु नजर भरी देख्न सकिन्छ ।
भmापा सँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सूर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । एक हजार आठ सय २५ मीटर उचाईमा रहेको गाँउपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको (गुगल डाँडा)बाट सूर्योदयका साथै हिमाल पहाड तराईको सहजै दृश्यावलोकन गर्न सकिन्छ ।
बिशेष गरेर हिउँदका दिनहरुमा मात्र घाम हेर्न र दृष्य नियाल्न पर्यटकहरु आउने गरे पनि यस स्थानमा जेठका दिनहरुमा समेत उत्तिकै पर्यटकहरु आउने गरेका छन् । नयाँ ठाउँ भएकाले पनि मानिसहरु यहाँ आउने गरेका छन् । तराईसँग नजिक भएका कारण पनि यहाँ गर्मी छल्न यस स्थानमा पर्यटकहरु आउने गरेका छन् ।
पछिल्लो समय यहाँ घाम झुल्केको हेर्नेको भीड नै जम्मा हुन थालेको छ । इलामको कन्याम चिया बगान र इलाम पाथीभरा मन्दिरको बीच भागमा रहेको गुगल डाँडाबाट कञ्चनजंघा लगायतका हिम श्रृखला अवलोकन गर्न सकिन्छ । कन्याम चियाबारी माथि हिमालको दृश्यले मनै लोभ्याउने आकर्षण थपेको छ । यति मात्र होइन झापा लगायत भारतका समेत विभिन्न शहरको दृश्य औलाले देखाउदै हेर्न सकिने स्थानिय बताउछन् ।
मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडा सम्म पदमार्ग निर्माणमा गाउँपालिका जुटेको छ । यस स्थानमा गाउँपालिकाले करसोङ पदमार्ग समेत निर्माण गरेको छ । यस स्थानलाई समेटेर काम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताउनुभयो ।
नजिकै रहेका कन्याम चियाबारीका साथै हाँसपोखरी, पाथीभरा देविको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रुपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ । यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके इलामको एक अब्बल पर्यटकीय क्षेत्र बन्नेमा दुइमत छैन तर तिनै तहका सरकारको एक साथ नजर पुग्न भने जरुर देखिन्छ ।