काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्।सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए। शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे।सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
उनले भने, ‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँगाउँमा, घरघरमा, वडावडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु। यसो गरियो भने पार्टीको देशभरी नै संगठन बलियो भएर जानेछ। हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लडदै आएको पार्टी हो। यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति सक्षम हुन्छ। त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ। त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन।त्यस अवसरमा सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए।