ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तत्काल किन गर्नुपर्छ नेपालले गाँजाको गैर-अपराधीकरण ?

विदेशी हस्तक्षेपमार्फत लादिएको कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १२:३७ बजे
तत्काल किन गर्नुपर्छ नेपालले गाँजाको गैर-अपराधीकरण ?
18
SHARES
Share on FacebookShare on Twitter

राजनैतिक रूपमा सक्रिय रहेका मुलुकका नेतागणहरूलाई ग्रामिण किसान र गरिव जनताहरूको पीडाबोध हुन सकिरहेको छैन ।

-नारायण घिमिरे

आज संसारभरमा झन्डै ३.८ प्रतिशतभन्दा धेरैले गाँजा प्रतिबन्ध गरियोस् वा नगरियोस् त्यसको पूर्ण बेवास्ता गर्दै गाँजाको नियमित वा सामाजिक पर्वहरूमा वा सामाजिक भेटघाटहरूमा गाँजा सेवन गर्ने अवस्था रहेको संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क छ। नेपालमा गाँजाले अन्य उद्योग धन्दाले भन्दा चाँडो कम खर्चमा रोजगारी सिर्जना गर्ने छ। खेर गइरहेका जमिनमा सम्भव हुने गाँजाको उब्जनी युवाहरूको उच्च आकर्षणको विषय बन्ने छ। प्रयोगशालामा भएको १० हजारभन्दा धेरै अनुसन्धानले गाँजा ४८० भन्दा धेरै केमिकल पदार्थबाट बनेको जसमा सयभन्दा बढी त औषधीय क्यानाबिनोइड रहने प्रमाणित गरिदिएको छ। आज अन्दाजी ७ सयभन्दा धेरै स्वस्थ सम्बन्धको विकृतिमा गाँजा उपयोगी हुने तथा हजारौँ हजार औषधिहरूमा उपयोग हुने अवस्था आएको छ।

औषधिबाहेक मालिस गर्ने क्रिम, तेलहरू, कस्मेटिकलगायत मनोरञ्जनात्मक गैर-औषधीय पदार्थ धूमपान, भेप र खाना तथा पेय, रक्सीको विकल्पको ड्रिङ्कमा आदि समेतमा गाँजा उपयोगमा आउन थालेको छ। निकै छिट्टै संसारभर गाँजा-रक्सीजस्तै नियन्त्रित तर खुला बिक्रीवितरण हुने पदार्थ बन्दै छ। नेपालमा गाँजा खेती गर्न र प्रशोधन गर्न कानुनी स्वीकृति दिनुले संसारमा हुनेमध्येको उच्च गुणस्तरमा नेपालमा उत्पादन हुने गाँजाको आफ्नो प्राविधिक र आर्थिक हैसियतअनुसारको नेपालले फाइदा उठाउन सक्ने छ। जस्तै, गाँजाको कोपिला, पात, ड़ाठ, जरा र चोप तथा तिनीहरूको एक्स्ट्रेक, चूर्ण, लोक्ता, सिठा तथा तरल र ठोस उत्पादन बेच्ने, गाँजाको बिरुवा, बिउ, कलमी गरेको बिरुवा, हाइब्रिड बिरुवा आदि बेच्ने।

मुलुककै दुर्भाग्य मान्नु पर्दछ- जतिबेला आधुनिक औषधि विज्ञानले आफ्नो दशौँ हजार परीक्षणहरूबाट शताब्दियौँअघि वेद र आयुर्वेदमा लेखिएका तथ्यहरू सत्य रहेको प्रमाणित गरी कानुनी रूपमै औषधीय र मनोरञ्जनात्मक प्रयोजनमा गाँजा ल्याइरहँदा नेपालमा भने गाँजाको खेती र कारोबारीलाई तस्करी ठानी पुलिस प्रशासनले नियन्त्रण गरिरहेको छ। राजनैतिक रूपमा सक्रिय रहेका मुलुकका नेतागणहरूलाई ग्रामिण किसान र गरिव जनताहरूको पीडाबोध हुन सकिरहेको छैन।

धार्मिक संस्कृतिमा गाँजा सेवन जोडिएको नेपालजस्तो मुलुकमा आफ्नो जीवनमा कम्तीमा एक पटक गाँजा सेवन गरेको मानिसहरूको सङ्ख्या उल्लेखनीय रूपमा निकै धेरै रहनु कुनै अचम्मको विषय रहेन। जसका कारणले नेपालमा गाँजाको नियन्त्रणमा अथाह धनराशि खर्च हुने, गाँजाको कारोबारकै कारण पुलिस र स्थानीय नेताहरू भ्रष्ट बन्ने तथा मात्र निजी रिसिबी साध्ने नियतले पुलिस प्रशासनले आफूलाई रिस उठेको पात्रलाई कानुनी रुपमा निषेधित लागूपदार्थ सेवन गरेको कसुरमा फसाएर प्रतिशोध साध्ने अवस्था विद्यमान रहेको देखिन्छ । नेपालमा आज पनि गाँजाजन्य चिज मिली बनेका औषधी पनि लागुऔषधकै श्रेणीमा पर्छन्। त्यसको अर्थ गाँजा प्रयोग हुने १९१ भन्दा बढी प्राचीन आयुर्वेदिक औषधि सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारे रोगको औषधी सेवन गर्दै गरेका बालबालिका, क्यान्सरको रोगबाट मुक्ति पाउन घर र अस्पतालमा चरम दर्द घटाउने औषधी र पेनकिलरका रूपमा गाँजाको तेलको मालिस लिइरहेका आफन्त, युद्ध वा यातनापूर्ण कारवाहीको दर्द घटाउन गाँजाको प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडित मानिसलाई समेत लागुऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी करार गरिरहेको छ। गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध छ। प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास समेत गरिरहेको छ।

गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध छ । प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास समेत गरिरहेको छ ।

२०१९ मा प्रकाशित विश्व ड्रग रिपोर्टअनुसार २०१७ मा संसारमा ५०१९ टन सुकेको गाँजा, ११६१ टन चरेस, ९ टन केटामाइन, ३.५ टन गाँजाको नसादायक हेलोसिनोजिन उत्पादन भएको र १८८ मिलियनले गाँजा सेवन गर्ने गरेको भेटियो । जसमा विगत वर्ष भन्दा २०१७ मा सुकेको गाँजाको सेवन गर्ने ७ प्रतिशतले बढेको हुँदाहुँदै नसादायक हेलोसिनोजिन खानेहरू सात गुनाले बढेको देखिन्थ्यो । अर्कोतर्फ केटामाइन खाने ३४ प्रतिशत र चरेसलगायतका गाँजाको रेजिन सेवन गर्नेहरू ३१ प्रतिशतले घटेको डाटा छ ।

संसारभर भएका वैज्ञानिक अध्यनहरूको निष्कर्ष, गाँजालाई गैरअपराधीकरण गरी औषधि तथा मनोरञ्जन पूर्ण काममा खुला गरिएका देशको अनुभवबारे गरिएको अनुसन्धानको निचोडहरूले के भन्दछ त्यसको सामान्य पुनरावलोकन समेत नगरी अनुमानका भरमा नेपालमा आज पनि कति मान्छे र पूर्वप्रहरी–प्रशासकहरू लगायत तत्कालीन अनुसन्धानहरूको बिनाअध्ययन मात्र प्राक्टिसमा लीन भएका सीमित मेडिकल डाक्टरहरू आदि समेत हचुवामै नेपालजस्तो देशमा गाँजा, चरेस खुला गर्दा दुर्व्यसनी बढ्छ, मुलुक बस्न लायकै रहँदैन त्यसैले यसको प्रतिबन्ध झन् कडा रूपमा हुनुपर्दछ समेत भन्न भ्याएको भेटिएका छन् । समाजका कतिपय सिधासादा वर्गमा तिनकै कुराले हो कि त भन्ने भ्रममा समेत परेको यथार्थता हामीसँग छ । अनुसन्धानबाट भने रक्सी र सुर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ । प्रस्ट रूपमा भन्दा विभिन्न अनुसन्धानहरूले चुरोट, रक्सीभन्दा गाँजा सेवन हजारौँ गुना उत्तम रहेको निचोडमा पुगेको भेटिन्छ ।

इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सुर्ती खाने सिकारुमा ३२ प्रतिशत सुर्तीको अम्मली बनेको भेटियो । रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो । गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो । अन्य अनुसन्धानमा सुर्ती वा रक्सी धेरै खाएर मान्छेको मृत्यु भएको पाइए पनि गाँजा धेरै खाएर कसैको मृत्यु भएको रेकर्ड भेटिएन । उल्टै गाँजा प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमा भन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो । अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सुर्ती र रक्सीलगायत अन्य अम्मलभन्दा अत्यन्त कम रहेको पनि प्रमाणित गरिदियो । गाँजा प्रयोगकर्ता रक्सीका अम्मलीजस्तो सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको पनि खासै भेटिएन ।

यथार्थमा आज रक्सी र सुर्तीभन्दा धेरै सुरक्षित प्रमाणित भएको छ गाँजा । हामीकहाँ भने रक्सी र सुर्ती अपराध नियन्त्रण अभिभारा पाएको निकायकै कार्यालयमा विभिन्न पार्टी र सम्मेलनको नाममा आरामले चल्दै आएको छ । ती अम्मलहरू भन्दा हजारौँ गुणा किफायती औषधीय मूल्यको गाँजा कसैले रोपेको वा कुरा मात्रै गरेको भेटे तिनै निकायका प्रमुखहरू मानिसको पता फर्काउन र गोर्खे लौरी लगाउन पाउँदा आफू मुलुकको सेवक बनेको भ्रममा मक्ख बन्दछन् । नेपाल कम हानिकारक वस्तु सेवन अपराधीकरणमा हुने तर बढी हानिकारक रक्सी, चुरोट र सुर्ती जस्ता अम्मल सम्भ्रान्त वर्गको सान ठानिने सुकुलगुन्डा तन्त्रले राज गरेको मुलुक बनेको छ ।

नेपाल कम हानिकारक वस्तु सेवन अपराधीकरणमा हुने तर बढी हानिकारक रक्सी, चुरोट र सुर्ती जस्ता अम्मल सम्भ्रान्त वर्गको सान ठानिने सुकुलगुन्डा तन्त्रले राज गरेको मुलुक बनेको छ ।

आयुर्वेदमा १३ फरक डोजेज फर्ममा १९१ (आन्तरिक १८७ फर्मुला र बाहिरी ४ फर्मुला) भन्दा धेरै ओखतीहरूमा गाँजाको प्रयोग भएको भेटिन्छ । त्यसमा पनि मुख्य तय १११ हर्बल-मिनिरल-मेटल हाली बन्ने प्रकृतिका रस प्रकृतिका ओखती, ३० थरी ट्याब्लेट वा गुटिका, १७ थरी पाउडर वा चुर्ण, ०९ थरी मिठाई जस्तो अवलेह, ४ थरी रक्सी-तेल मिश्रित अश्म, ०३ थरी डिकोकसन मतलब कभाथा र ग्रथ, एक अल्कोहोलिक वा अरिस्ट, एक मोदका वा बोलस, एक सत्तावा (एसेंस), एक लौह (फलाममा आधारित) तथा अन्य उत्पादनहरू भएका देखिन्छन् ।

गाँजा ओखतीको रूपमा प्रयोग गर्दा सफा गरेर वा शुद्धीकरण पश्चात् मात्र प्रयोग हुने गर्थ्यो । जसमा मुलतः तीन विधि अपनाउने गरिन्थ्यो । पहिलोमा गाँजाको पातलाई सिरकको खोल हुने मस्लिमक्लथ कपडाले बाँधेर पानीमा हरियो नआउन्जेल हातले मिची-मिची (पात नभत्कने गरी) सफा गरिन्थ्यो । त्यसपछि घाम नभएको ओझेलमा राखी सुकाएर सुकेपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो ।

दोस्रो तारिकमा गाँजाको पातलाई पानीमा सफा गरिन्थ्यो, हातले दबाएर पनि तारे पछि सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो । घिउमा भुटिएको गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो । तेस्रो तारिकमा गाँजाको पातलाई लगभग तीन घण्टा गाइको दूधमा डुबाएर यसमा हुने स-साना बैजनी पदार्थ हटाइन्थ्यो र त्यसपछि पानीले सफा गरिन्थ्यो । जसलाई सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउमा भुटिन्थ्यो । घिउमा भुटिएको दूध पानी मा नुहाएको (सभेदाना वा फोमेन्टेसन) गाँजा त्यसपछि ओखतीमा हाल्न तैयारी पदार्थ बन्दथ्यो । चौथो तरिकामा खयरको बोक्रालाई ३०-४० मिनेट पानीमा उम्लेर बनेको पनि (डिकोक्सन) मा मनतातो अवस्थामा गाँजाको पातलाई लगभग १२ मिनेट जति भिजाएर सिधै घाममा सुकाएर सुकेपछि गाइको शुद्ध घिउसँग मिसाएर पाउडर वा चुर्ण बनाइन्थ्यो । घिउसहितको सुकेको गाँजाको पाउडर ओखतीमा हाल्न तैयारी चुर्ण बन्दथ्यो ।

परम्परागत रूपमा गाँजा रहेको ओखतीमा गाँजा हाल्न यसरी तैयारी हुने गर्थ्यो । आज मर्करी अथवा पारो र कतिपय हेभी मेटल जस्तै फलाम आदिको खरानी आदि ओखतीमा हाल्नुको स्वास्थ्यको फाइदा थाहा हुन नसकेको तर तिनीहरू हानिकारक बनेका केही प्रमाणहरू देखिएकाले स्वास्थ्यको हित हुने निश्चित नभएको पदार्थ छोडेर अन्य पदार्थबाट हाम्रो परम्परागत औषधि विज्ञान र आधुनिक औषधि विज्ञानको ज्ञान मिलाएर आज हामीलाई नयाँ मानव कल्याण गर्ने स्वास्थ्यवर्द्धक ओखती र पूरक खाना निर्माण गर्ने क्षमता प्राप्त भएको छ । यो अवसरलाई समयमै सदुपयोग गर्न जरुरी देखिन्छ ।

गाँजा जस्ता बस्तुहरू कानुनी रूपमा प्रशोधन हुँदा गाँजा प्रशोधन प्रक्रियाको तापक्रम र प्रेसर मात्रमा सामान्य हेरफेर गरी हाल कमर्सियल स्केलमा उत्पादन नभइरहेका अन्य ३०० भन्दा धेरै उच्च मूल्यका जडीबुटीको पनि प्रशोधन र बजारीकरणले मुलुकको कायापलट गर्ने छ ।

आज नेपालमा गाँजालाई गैरअपराधीकरण गर्नको लागि समय परिपक्व बनिसकेको छ । विश्व ड्रग रिपोर्ट २०१९ को डाटाको आधारमा नेपालले गाँजा खेतीबाट सम्भव हुने प्रभावकारी मुनाफा र प्रतिफल लिन एकातर्फ स्तरीय गाँजा उत्पादनमा जोड दिन जरुरी छ । अर्कोतर्फ कार्बनडाई अक्साइड प्रयोग गरी गाँजाको सार तत्त्व निकालिने अहिले सम्मकै सबैभन्दा ग्रिन तथा अर्गानिक प्रविधि सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोशोधन अवलम्बन गर्न अनिवार्य देखिन्छ ।

हाल औद्योगिक स्तरमा सुपर क्रिटिकल एक्सट्रेक्सन प्रोसोधन प्रविधिमा काम गर्ने प्लान्टको सुरुको मूल्य सवा तीन करोडदेखि चार करोडको हाराहारीमा पर्ने गर्छ । नेपाल जस्ता मुलुकले यस्ता आधुनिक प्रविधिका मेसिनहरू खरिदमा अन्य मुलुकले जस्तो ८०-८५ प्रतिशतसम्म उद्योगहरूलाई मेसिन खरिदमै अनुदान, मेसिन आयातमा कर छुट हुने गरी वास्तविक नेपाली उद्यमीको हातमा यो उच्च प्रविधि र आधुनिक उद्यमशीलता पुर्‍याउन जरुरी छ ।

नेपाल गाँजा जस्ता आफ्नै रैथाने संसारमै पाइने मध्येका उत्कृष्ट गुणस्तरका सार तत्त्व दिने लगभग ७ हजार हर्बलहरूको सुन्दर स्थान हो । नेपालका डाँडा पखेरामा असरल्ल फालिएर बसेका ती औषधीय र सुगन्ध दिने वनस्पतिमध्ये झन्डै ३०० गाँजा जस्तै जताततै सजिलै हुने पाइन्छ । जस्तै क्यान्सरको ओखती बन्ने तितेपाती, डिप्रेसन र एञ्जाइटिको ओखती बन्ने घोड-टाप्रे, काउसो, कण्टकारी, असुरो, बेथे, मेपल फ्लेभर सिरप बन्ने मेथी र टाप्रे, लिकोराइस भनिने जेठी मधु आदि । गाँजा जस्ता बस्तुहरू कानुनी रूपमा प्रशोधन हुँदा गाँजा प्रशोधन प्रक्रियाको तापक्रम र प्रेसर मात्रमा सामान्य हेरफेर गरी हाल कमर्सियल स्केलमा उत्पादन नभइरहेका अन्य ३०० भन्दा धेरै उच्च मूल्यका जडीबुटीको पनि प्रशोधन र बजारीकरणले मुलुकको कायापलट गर्ने छ ।

नेपालले वैधानिक रूपमा गाँजा खुला गर्न आफ्नो आन्तरिक कानुन संशोधन गर्नुपर्छ । दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बागलुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रुपन्देही, नवलपरासी, चितवन, सुर्खेतलगायत जिल्लामा किसानहरूको जीविकोपार्जन सहज गर्न र सरकारले जनताको लागि केही गर्छ भन्ने सन्देश दिन पनि वर्तमान सरकारले तुरुन्त अध्यादेश मार्फत नेपालमा औषधीय प्रयोजनको लागि गाँजा प्रयोग गर्न तथा विदेशमा निर्यात गर्ने सन्दर्भमा भने औषधीय, खाद्य तथा मनोरञ्जनको लागि समेत गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातमा गैरअपराधीकरण गर्न जरुरी छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट औषधीय प्रयोजनको लागि प्रयोग गर्न छुट हुने गरी गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातलाई गैरअपराधीकरण गतिविधि करार गरी जोखिमपूर्ण नार्कोटिक ड्रग्सको सूचीबाट हटाइसकेको छ । नेपालले त्यसबाट फाइदा लिन तुरुन्तै अध्यादेश ल्याएर गाँजाजन्य कारोबार गैरअपराधीकरण गर्ने र सोको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ । नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ । जुन नेपाली किसानमाथि गम्भीर अपराध र अन्याय थियो । हरेक जन उत्तरदायी सरकारको विगतको गलत निर्णयका कारण हुन गएको जनतामाथिको घात तुरुन्त सच्याउनु नैतिक र राजनैतिक जिम्मेवारी रहेकाले यो घातलाई तुरुन्त सच्चाएर अरू क्षति हुनबाट मुलुकलाई जोगाउन तुरुन्त अध्यादेश आउन जरुरी देखिएको हो ।

नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ । जुन नेपाली किसानमाथि गम्भीर अपराध र अन्याय थियो ।

विगतको गम्भीर जनघाती निर्णयका कारण हाम्रा छिमेकहरूमा औषधीय प्रयोजनमा कहिल्यै प्रतिबन्ध नभएको गाँजा हाम्रो मुलुकमा सधैं प्रतिबन्धित रह्यो । मुलुकभित्र गाँजाजन्य औषधी बनाउन समेत गाँजाको खेती गरी व्यावसायिक उत्पादन, प्रशोधन र निर्यातमा गैरअपराधीकरण गर्न सकिएन । यसलाई सच्चाउन औपचारिक रूपले कानुन बनाएर गाँजाको वैधानिक उत्पादन, प्रशोधन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो नेपालले पनि पछ्याउनु निकै ढिलो भइसकेको छ । मान्नुस-नमान्नुस् नेपालले हिजै मुख्यतः दुई उद्देश्यलाई प्राथमिकतामा राखेर गाँजाको व्यावसायिक उत्पादन, प्रशोधन, प्रयोग, बेचबिखन तथा निर्यात कार्यलाई गैरअपराधीकरण गरी वैध बनाउन जरुरी थियो ।

पहिलो- गाँजाको बिक्रीमा भइरहेको आपराधिक संलग्नतालाई कम गर्ने । गाँजाले समाजमा पुर्‍याउन सक्ने सामाजिक विकृतिको नियन्त्रण गर्ने, यसका मानवीय फाइदाका गुणहरूबाट नेपाली समाज र विश्वलाई लाभ पुर्‍याउने । तस्करीमा हुने गरेको रकमको विनिमय तस्करी उन्मुलनमार्फत आयकरको दायरामा ल्याएर मुलुकको आम्दानी सुनिश्चित गर्ने । दोस्रो- किशोरकिशोरीमा यसको उपलब्धता वा पहुँच घटाएर शून्यप्रायः बनाउने । अर्थात् औषधिको प्रयोजनबाहेक मनोरञ्जन वा नसाका रूपमा युवा अवस्थाका किशोरकिशोरीहरूको उपलब्धता वा पहुँचबाट पूर्ण नियन्त्रण गर्ने । गैरकानुनी हुँदा युवा वर्गमा बढ्ने दुर्ब्यसनीको हद घटाएर युवाको हातमा लुकी-लुकी चिलिमका चिलिम गाँजा पुग्ने स्थितिको अन्त्य गर्ने ।

जब कानुनबाट नै संरक्षण प्राप्त हुनेगरी नियन्त्रित रूपमा गाँजाखेती सुरु गरिन्छ तब यो क्षेत्रमा नयाँ प्रविधि र सीप हस्तान्तरण गर्न सम्भव बन्छ । यसका प्रशोधन, गाँजायुक्त औषधि, गाँजाजन्य खाद्य तथा पेय र धूम्रपान, ई भेप जस्ता उद्योगको स्थापना हुन्छ । मुलुकभित्रै विविध क्षेत्रका उत्पादन मुलुक संस्कार भित्रन्छ । ग्रामीण क्षेत्र केन्द्रित हुने नव-प्रवर्तनीय संस्कारका विकासका कारण कम्पनीहरू आफैले संसारको माग पूर्ति गर्ने धेरै इनोभेटिव प्रविधि र फर्मुलेसनहरू समेत विकास गर्न सफल बन्छन् । त्यसको लागि धेरै कुर्न सकिने अवस्था विद्यमान छैन । समयमै हिरा फोर्न र परिस्थितिजन्य समयको सदुपयोग गरी मुलुकको समृद्धिका लागि तुरुन्त अध्यादेश ल्याएर नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजा कारोबार गैरअपराधीकरणको बाटो सरकारले तुरुन्त अवलम्बन गरोस् ।

(१५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनर्संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्ता समेत हुन् । उनले हर्बल ओखती र औषधीय गुणको हिलिङ फुड निर्माणको क्षेत्रमा वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमा विज्ञता प्राप्त गरेका छन् ।– सं.) 

(घटना र विचारबाट साभार)

Tags: गाँजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist