ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गुमाउँदै छु गुरुहरू ! सम्झना र स्मरणले विह्वल हुन्छु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १३:१३ बजे
गुमाउँदै छु गुरुहरू ! सम्झना र स्मरणले विह्वल हुन्छु
20
SHARES
Share on FacebookShare on Twitter

-महेन्द्र पी लामा 

दार्जीलिङको बतासेडाँडाको मास्तिर गान्धीरोडमा लामो न्यानो कालो कोट लगाएर विस्तारै हिँडिरहेको मान्छेलाई ठम्याउन निकै गाह्रो पर्यो । मेरो मनले भन्यो, ‘यो कोट त मैले कहीँ देखेको हो।’ अगाडि गई गाडी रोकेँ, हाम्रा कविराज सर हुनुहुँदो रहेछ। हतारहतार नमस्कार गरेर आफ्नो परिचय दिए। निकै घोरिएर हेरेपछि गुरुबाले मलाई अँगालो हाल्नुभयो।

३२ वर्षअघि त्यही कालोकोट लगाएर उहाँ हामीलाई टर्नबुल स्कूलमा हिसाब पढाउनु हुन्थ्यो। हामीलाई गणित सँगसँगै गान्धी खुट्टै पाठशाला गएका विद्यार्थीलाई ज्ञान दिनुमा गहिरो आत्मसन्तुष्टि महसूस गर्दथे। शिक्षकको धर्म नै शिक्षा प्रदान गर्नु , तर केवल पुस्तक र पाठ्यक्रम भित्रको होइन। जीवनलाई राम्ररी जिउने कला सिकाउने शिक्षा देखि आफूले पाएको शिक्षा र ज्ञान अरूलाई बाँड्नुपर्छ भन्ने मूल्यसमेत उहाँहरूले हामीलाई सिकाउनु भयो।

सिंहमारीको स्कट्स मिशन प्राथमिक स्कूलका प्रधान अध्यापक कार्थक सर र सावित्री गुरुमा कक्षा शुरु हुनुभन्दा आधा घण्टा अघि नै स्कूल पुग्नुहुन्थ्यो। साफ–सफाइ हेरिन्थ्यो, प्रार्थना सभा हुन्थ्यो, राष्ट्रिय गीत गाएपछि मात्रै पढाइ शुरु हुन्थ्यो । कार्थक सर सोझे तर कडा ! दिउँसो नजिकैको ठुटे बजारमा भोटिनीको दोकानमा खाजा खान जानुहुन्थ्यो।

हामी स्कूल परिपरि छरिएका कागजको पोकोलाई प्लाष्टिकले बेरेर; सुतलीले टनटन्ती बाँधेको बल र ढुङ्गाको गोलपोष्ट बनाई फूटबल खेल्थ्यौँ। हर्ली–मल्ला–जशोदागिरी कपमा खेल्ने खेलाडी भई टोपल्थ्यौँ । त्यतिको आनन्द र अलौकिक मजा फेरि कहिल्यै पाउन सकिनँ। प्राथमिक स्कूल खेलेरै बितायौँ । अहिलेका नानीहरूले जस्तो पुस्तक, खाता र व्यागको बोझ कहिल्यै बोकेनौं।

सिंहमारीदेखि बजारको टर्नबुल स्कूल हिँडेर जान सक्ने भयौँ। अग्ला र सुन्दर महेन्द्र सर; जो प्रधान अध्यापक पनि हुनुहुन्थ्यो, उहाँले चिनियाँ भाषा सिकाउनु हुन्थ्यो। दौरासुरुवाल र टोपी लगाएर घुरपिसको लौरो बोकी हरेक बिहान स्कूलको मैदानमा आधा घण्टाको रमाइलो जमघट गराउने उप–प्रधानअध्यापक हेमचन्द्र सर अचम्मै स्वभावको हुनुहुन्थ्यो। भित्तामा लौरो ठोकीठोकी लय मिलाउँदै ‘लडाइँ हुँदैछ, शत्रु आउँदैछन्, वीर सिपाही हो मसीहको’ र ‘वेन टर्नबुल बोरज्गो मार्चिङ्ग अन, दियर वील वी ए न्यू टुमरो’ स्कूलेगीत सबैलाई सिकाउनु हुन्थ्यो र सबैले गाउँथ्यौँ।

एनवी देवान सरले अङ्ग्रेजी व्याकरण, दीक्षित सरले गणित, शङ्कर सरले भूगोल र पीपी राई सर, लक्खी– खालिङ–चन्द्रकान्त–कुमाई सरहरू सबैले चाख मानेर पढाउनु हुन्थ्यो। नजिकैमा रिंक र क्यापिटल सिनेमा घरहरूमा बबी, एक फूल दो माली, स्याटरडे नाइट फीभर, लभ स्टोरी, रगुड, ब्याड एण्ड अग्ली हेर्न भनी स्कूलबाट भागेर जानेहरूलाई बाटोमा लस्कर लगाई ‘धुलाई ‘ दिइन्थ्यो। छेवैको नेपालीगल्र्स स्कूलका केटीहरू त्यो दृश्यको खुब मज्जा लिन्थे।

दार्जीलिङको बर्खेझरी र त्यस माथि एउटै श्रेणीमा ५०– ६० विद्यार्थीहरू ! दुर्गन्ध त फैलिन्थ्यो नै। अल्लरे बल्लरे हामी ठिटाहरूलाई के को दुर्गन्ध ? तर थ्री पीस सुटमा डबल नटको टाई बाँधी टिमिक्क कपाल कोरेका पारस आले सर चाहिँ कक्षामा पस्नुअघि नै औँलाले आफ्नो नाक निमोठ्नुहुन्थ्यो। पस्नासाथ आज तिमीहरूले मराठा अगरबत्ती जलाएनौ कि क्या हो भनी सोध्नुहुन्थ्यो। सबैले दुई–दुई पैसा दिई अगरबत्ती किनेर ब्ल्याक बोर्डमा बाल्नु नै पथ्र्यो । पारस सर जस्तो सफा मान्छे स्वास्थ्य शिक्षाका नमूना नै थिए।

स्कूल सकेर फेरि नजिकैको सन्त जोसेफ कलेज गयौँ। अहिलेसम्म प्रोटेस्टान्ट स्कूलमा पढेका हामीले क्याथोलिक कलेजमा प्रवेश गर्दा केही पनि अन्तर पाएनौँ। विभिन्न राज्य र राष्ट्रहरूबाट आएका विद्यार्थीहरूसँग अचानक जुझनु परयो। अङ्ग्रेजी बोल्न र सिक्न करै लाग्यो। कलेजको स्तर निकै माथि, हामीलाई निक्कै हम्मे परयो। आफ्नो ल्याकतको परीक्षा पनि ‘भो।

त्यहाँ पनि शिक्षकहरू अति नै परिश्रमी र लगनशील, पढ्नै पर्ने भो। अर्थशास्त्रमा अनर्स गर्ने हामी अझै व्यस्त हुने भयौँ । जेरार्ड मुखिया सरले समको प्रल्हाद, देवकोटाको कल्पना निबन्ध र लेखनाथको तरुणतपसी भित्रका शब्द–शब्दको विश्लेषण गर्नु हुन्थ्यो । मिस उनले अङ्ग्रेजी पढाउँदा ध्यान नदिनेलाई ‘परीक्षाफलमा लड्डु पाउँछौ’ भन्दै दुई सुलुक्क परेका औँला जोडी डल्लो बनाउँदै हामीलाई इशारा गर्नु हुन्थ्यो।

सेतो धोती लगाएका चक्रवर्ती सरले कर प्रणाली पढाउँदा सबै झुल्थ्यौं। क्यालिफोर्निया विश्वविद्यालयमा डाक्टरेट गरेर आउने डा. सरकार यति भुलक्कड थिए कि एक दिन पोस्ट अफिसमागई चिठ्ठी हाल्नुको सट्टा आफ्नो कालो फाउन्टेन पेन पोस्ट गरे छन्। सबै हाँस्यौँ । तर कस्तो विद्वान् मान्छे, मलाई शोधकार्य प्रति झुकाव बढाउने अधिकांश श्रेय नै उहाँलाई दिन्छु। हामी गुरु– शिष्य मिली दुईतीन वटा पुस्तकहरू पनि लेख्यौँ।

फिलिप गुरुङ सर सबैको प्यारो। सीबी राई– क्याप्टन लाल–फादर भ्यान–पापाडील–एनवी राई सरहरूले धेरै दिए, केही लिएनन् । कलेज परतिर को बडीको चिया दोकानमा बन–अण्डा यति स्वादिष्ट बनाइन्थ्यो कि विदेशको यति धेरै यात्रापछि पनि बडीकोमा नै जान मन पर्छ । बडी स्वर्गवास भएर कहाँ पुगे, तर त्यो चियापसलको तस्बिर हामीभित्रै छ।

धेरै पाएँ मैले मेरा गुरुहरूबाट तर केही दिन सकिनँ उनीहरूलाई। स्वर्गवास भएका कतिपय गुरुहरूले एउटा विद्यार्थीलाई भने शिक्षककै पेशामा ल्याउन सक्यौँ भन्दै होलान् शायद। मेरा जीवित गुरुहरूले चाहिँ मैले अघि ल्याएका देश–विदेशका विद्यार्थीहरूलाई सोध्ने गर्छन् रे, ‘तिम्रो शिक्षकले कस्तो पढाउँछ ?’ यी विद्यार्थीहरूसँग कहिलेकाहीँ भेट हुँदा मेरा जीवित गुरुहरूले गरेका हाम्रा तीता–मीठा कुराहरू सुनाउँछन्। हर्षले ओतप्रोत हुन्छु, कृतज्ञता पोख्न चाहन्छु, सम्झना र स्मरणले विह्वल हुन्छु।

धेरै बितेर गए, अब धेरै रहेका छैनन् पनि। तर एउटा आश्वासन दिन चाहन्छु, उनीहरू सबैलाई। शिक्षा र शिक्षकको परम्परालाई अनिकालमा बीउ जोगाए झैँ जतन गरी राख्नेछु। रोप्दैछौँ त्यस्ता धेरै बिरुवाहरू, छर्दैछौँ अनेकन् बीउहरू– हामीलाई यहाँसम्म पुरयाउने गुरु– गुरुमाहरूले निर्माण गरेका सुन्दर बगैँचाहरूमा।

(लामा भारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धी विश्वविद्यालयका पूर्व उपकुलपति हुन्।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist