इटहरी । नेपाली कांग्रेसको तर्फबाट इटहरी –९ को वडाध्यक्ष पदमा गोविन्द घिमिरेको उम्मेदवारी रहेको छ ।
पञ्चायत कालदेखी शसक्त रुपमा राजनीतिमा लागेका घिमिरेले यहि ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।
घिमिरेले विगतमा नेविसंघ इटहरी सभापति हुँदै जिल्ला सदस्य र दुई कार्यकाल तरुण दल इटहरी सभापती हुँदै जिल्ला सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले नेपाल प्रेस युनियन सुनसरीको सभापतीको भुमिकामा रहेर पनि काम गरेका छन् । घिमिरे हाल नेपाली कांग्रेस प्रदेश सम्मेलन समितिको सदस्य रहेका छन् ।
उनले वडामा रहेका सुकुम्बासी समस्या, शिक्षा, स्वास्थ्य र बेरोजगारका समस्या अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताए । वडामा रहेका बसपार्क, रंगशाला र शैक्षिक संस्थामा सुधारको खाँचो रहेको उनले बताएका छन् ।
फोहोर मैला व्यवस्थापन र हराभरा वडाको विकासलाई उनले प्राथमिकतामा राखेका छन् । अघिल्ला जनप्रतिनिधिले दीर्घकालीन विकासका योजना कार्यन्वयन गर्न नसकेको उनको गुनासो छ ।
वडाको विकासको लागि फोहोरमैला व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिएका छन् । आफू स्थानीयबासी भएको र सामाजिक क्षेत्रमा काम गरेको आधारमा वडाबासीको साथ सहयोग रहने उनको विश्वास छ ।
घिमिरेले आफू निर्वाचित भएपश्चात् जनताको भावना अनुरुप समस्याको समाधान गर्ने र हरेक समय वडाबासीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।







