सप्तरी । सप्तरीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा बुधबार एक युवती मृत अवस्थामा भेटिएका छन् ।
रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ। मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफै रूखमा झुन्डिएको हुनसक्ने बताइएको छ।
घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो।