खोटाङ, ११ भदौ ।
जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका नागरिकको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको छ ।
पछिल्लो समय अफगानिस्तानमा देखिएको राजनीतिक उतार चढावका कारण असुरक्षित बनेका जिल्लावासीको सुरक्षित उद्धार गर्ने प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका नागरिकको विवरण संकलन गरेर उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले भदौ ९ गते जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई पत्र पठाउँदै अफगानिस्तानमा रहेका स्थानीयको विवरण यथाशिघ्र उपलब्ध गराउन आग्रह गरेका हुन् ।
प्रशासनको पत्रका आधारमा स्थानीय तहले अफगानिस्तानमा रहेका पालिकावासीको विवरण संकलनका लागि सूचना जारी गर्न थालेका छन् । कतिपय स्थानीय तहले प्रशासनकै पत्र राखेर अफगानिस्तानमा रहेका आफन्तको बारीमा जानकारी दिन सूचना निकालेका छन् ।
मुगु
जिल्ला प्रहरी कार्यालयले अफगानिस्तानमा रहेका मुगाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । जिप्रका मुगुले सूचना जारी गर्दै कामको सिलसिलामा अफगानिस्तान पुगेका मुगालीलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार मुगु घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।
मुगुबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि विवरण संकलन कार्य सुरु गरेको र सम्बन्धित स्थानीय तह वा नजिकको प्रहरी चौकीमा अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले विस्तृत विवरण उपलब्ध गराउनुपर्ने डिएसपी भट्टराईले जानकारी दिए । जसबाट आवश्यक समन्वय तथा उद्धारमा सहज हुने उनको भनाइ छ ।