काठमाडौँ । नेपाल चिकित्सक सङ्घले एक विज्ञप्ती जारी गर्दै डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि गत भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको हो । आइतबार (आज) देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घको विज्ञप्तीमा उल्लेख छ ।
सङ्घले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले डाक्टर कुटपिटमा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।