– पारस राई
धरान । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । धरानमा पनि ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । शुक्रबार धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको हो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए ।
उनीहरुले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला लगाएर छाता वितरण गरेका थिए ।
मेयर राईले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना दिदै ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा पनि बोझ नभई वरदान सावित हुने बताए ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्ने मेयर राईको भनाई थियो । मेयर राईले अब ज्येष्ठ नागरिकहरुलाई वर्षमा एक पटक मात्र सम्झदैन दुई देखि तिन महिनाको अन्तरालमा कार्यक्रमहरु व्यवस्थित गरेर ज्येष्ठ नागरिकहरुसँग भेटघाट गर्ने, ज्येष्ठ नागरिकहरुसँग भएको अनुभवहरु साटासाट गर्ने, भलाकुसारी गर्ने धारणा व्यक्त गरे ।
सामाजिक शाखाकी प्रमुख प्रज्ञादेवि निरौलाले धरानका २० वटै वडामा ज्येष्ठ नागरिक समिति गठन गरिएको जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरुको सम्मानका निम्ति उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको उनले बताए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले राज्यले ज्येष्ठ नागरिकहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, ज्येष्ठ नागरिक मिलन केन्द्र धरानका सभापति सरला कायस्थ, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपसभापति कुमार ब. कार्की लगायतले सम्बोधन गरेका थिए ।