धरान । धरान उपमहानगरपालिकाले टोल विकास संस्था (टीएलओ) हरुलाई कानुन सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो । आज पहिलो दिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागि भएका थिए ।
बुधबार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम दिईनेछ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले धरानका वडा नं. १ देखि २० सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुन सम्बन्धि सचेतना कार्यक्रम गरिएको बताए ।
‘जबसम्म नागरिकहरुले कुनै पनि कुराहरु बुझेका हुदैनन्, तबसम्म कानुनको कार्यान्वयन हुन सक्दैन,’ मेयर राईले भने । नागरिकहरुलाई कानुन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको मेयर राईको भनाई थियो ।
मेयर राईले कार्यक्रममा सहभागि भएका प्रतिनिधिहरुलाई बुझेको कुरा शेयर गर्न, नबुझेको कुरा बुझाउन आग्रह गर्दै अभ्यासले मानिसलाई परिपक्क बनाउने कुरामा जोड दिए । टिएलओमा आएका केशहरुलाई सहीढंगबाट मिलाउन सक्नुपर्ने बताउँदै मेयर राईले क्षमता अभिवृद्धि गर्नका लागि यस्तो तालिमको आयोजना गरिएको बताए ।
उपमहानगरपालिकाका कानुनी सल्लाहकार अवईन्द्र निरौलाले वडाको नगरपालिकाको, न्यायिक समितिको काम कर्तव्य के हो ? यि सबै कुरामा जानकारी हुन आवश्यक रहेको बताए । कानुनी सल्लाहकार जनार्दन कोईरालाले दुई दिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुनको परिचय, कानुन निर्माणको प्रक्रियामा सहजिकरण गरिने जानकारी दिए ।
यस्तै, कार्यपालिकाकी सदस्य एवं न्यायिक समिति सदस्य विनिता बज्राचार्यले टिएलओले ल्याएको सल्लाह, सुझावहरुलाई लिएर न्यायिक समितिले काम गरिरहेको जानकारी दिएका छन् ।