- पारस राई
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी तिहार अघि नै कालोपत्रे गरिने भएको छ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडमा भएका खाल्डोहरुलाई पुर्न तथा कालोपत्रे गर्नका लागि एक उपभोक्ता समिति र अुनगमन समिति गठन गरिएको हो ।
वीपी प्रतिष्ठान जाने धरान धनकुटे सडक कालोपत्रे तथा सडक मर्मत गर्नका लागि उपभोक्ता समितिको अध्यक्षमा सुर्य कुमार लिम्बु, सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी चयन भएका छन् । सदस्यहरुमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बु, भावना सुब्बा, नमिता राई र टिका लिम्बु छन् ।
यस्तै, अनुगमन समितिको संयोजकमा धरान वडा नं. १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)लाई चयन गरिएको छ । सदस्यहरुमा निर्मल राई, पुर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।
मेयर राईले यो सडक धेरै पुरानो सडक भएको हुनाले समय समयमा बिग्रि रहने अवस्था रहेको बताए । मेयर राईले भने, ‘विपी प्रतिष्ठान आउने धनकुटे रोडमा गत वर्ष पनि केही बजेट छुट्याएर खाल्डाखुल्डी पुरेका थियौं । पिच गर्ने योजना बनाउँदै गर्दा केहीदिन अघि मात्र आएको अविरल वर्षाले फेरी जस्ताको त्यस्तै बनायो ।’
धनकुटे रोडको बाटो भएर एम्बुलेन्ससहित दैनिक सयौं सवारीसाधनहरु प्रतिष्ठानमा उपचारको लागि आउने भएको हुनाले समस्या नहोस् भनेर तिहार अघि नै काम सम्पन्न गर्न मेयर राईले निर्देशन समेत दिए ।
उपमहानगरपालिकाका योजना अधिकृत किरण भूजेलले नगरपालिकाको सडक मर्मत कोषबाट धनकुटे रोडको खाल्डाखुल्डी कालोपत्रे गरिने जानकारी दिए ।







